एसईई सुरु : ५ लाख बढी परिक्षार्थी सहभागी
काठमाडौँ । आज बिहान ८ बजेवाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । परीक्षामा ५ लाख ४ हजार ४ सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । देशभर दुई हजार ६४ वटा परिक्षा केन्द्र तोकिएका छ ।
काठमाडौं जिल्लामा सबैभन्दा बढी एक सय २७ परीक्षा केन्द्र छन् भने मनाङ र मुस्ताङमा सबैभन्दा कम एक–एक वटा परीक्षा केन्द्र रहेका छन् । काठमाडौंमा ३८ हजार आठ सय ३१ तथा मनाङमा ४३ विद्यार्थी एसइईमा सहभागी छन् । परीक्षा सञ्चालनका लागि ७७ हजार पाँच सय जनशक्ति परिचालन गरिएको छ । त्यसमध्ये ३० हजार नौ सय ५० सुरक्षाकर्मी हुन् । २७ चैतसम्म सञ्चालन हुने परीक्षा सकिएपछि देशभरका ६० परीक्षण केन्द्रमा उत्तरपुस्तिका परीक्षण गरिनेछ ।
राष्ट्रिय परीक्षा बोर्डले यसपटक परीक्षाको नतिजा प्रणाली परिवर्तन गरेको छ । बोर्डका अनुसार हरेक विषयमा कम्तीमा ३५ प्रतिशत अंक ल्याएको विद्यार्थी मात्रै उत्तीर्ण हुनेछन् । प्रयोगात्मक विषयमा विद्यार्थीले ४० प्रतिशत अंक ल्याउनैपर्ने नियम बनाईएको छ भने प्रयोगात्मक र सैद्धान्तिक दुवै विषयमा विद्यार्थी उत्तीर्ण हुनुपर्नेछ ।