काठमाडौँको ढलमा पोलियो जीवाणु भेटियो !

२०८१ श्रावण ५ गते, शनिबार


काठमाडौँ । स्वास्थ्य सेवा विभागले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘पोलियो रोग र निगरानी’ विषयक अन्तरक्रिया कार्यक्रममा विभागका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले काठमाडौँको टुकुचा खोला र बागमती नदीको सङ्गमस्थल टेकुको ढलमा पोलियो जीवाणु भेटिएको जानकारी दिएका हुन् ।
दुई नदीको सङ्गमस्थलबाट सङ्कलन गरिएको ढलको नमुनामा पोलियो जीवाणु भेटिएको प्रमुख डा गौतमले बताए । ढलमा पोलियो जीवाणु देखिएको पहिलोपटक हो । नेपालमा सन् २०१० मा अन्तिम पटक मानिसमा पोलियो जीवाणु देखिएको थियो । नेपाल सन् २०१४ पोलियोमुक्त मुलुक भएको थियो । सरकारले सन् २०२६ सम्म पोलियो उन्मुलन गर्ने लक्ष्य राखेको छ ।
‘अहिले पोलियो जीवाणु ढलमा देखिएको हो । पोलियोको जीवाणु जहाँ देखिए पनि संवेदनशील विषय हो,’उनले भने, ‘ढलमा देखिनुले कतै व्यक्तिमा पनि छ कि भन्ने आशङ्का छ ।”
खोप शाखा प्रमुख डा गौतमले ढलमा जीवाणु देखिनु संवेदनशील भएको उल्लेख गर्दै व्यक्तिमा जीवाणु छ कि भनेर खोजबिन गरिने बताए । उनका अनुसार थाइल्यान्डको बैङ्ककमा ढलमा सङ्कलन गरिएको नमुना परीक्षण गर्दा गत असार २९ गते पोलियो जीवाणु देखिएको पुष्टि भएको हो । ढलको नमुना सङ्कलन भने गत जेठ १३ गते दुई नदीको सङ्गमस्थलबाट गरिएको हो ।
नेपाल पोलियो उन्मूलन भएपछि १० वर्षपछि पोलियोको जीवाणु भेटिएको हो । उनका अनुसार उक्त पोलियोको जीवाणु प्राकृतिक रूपमा पाइने ‘वाइल्ड पोलियो’ नभएर ‘भ्याक्सिन डिराभ्ड पोलियो टाइप–३’ जीवाणु हो । ‘टुकुचा र बागमतीको सङ्गमस्थल टेकुमा देखिएको हुनाले पोलियो भाइरस काठमाडौँ उपत्यकाबाट नै आएको हुनसक्छ,’उनले भने
उपत्यकामा पोलियोको जीवाणु भेटिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ, ललितपुर र भक्तपुरमा पोलियो रोगविरुद्धको खोप अभियान सञ्चालन गर्दैछ । परिवार कल्याण महाशाखाका निर्देशक डा विवेककुमार लालले जन्मेदेखि पाँच वर्षमुनिका बालबालिकालाई घरघर गएर पोलियो रोगविरुद्धको ‘आईपीभी’ खोप अभियान सञ्चालन गर्न थालिएको बताए ।
उनका अनुसार खोप यही साउन ९ देखि १२ गतेसम्म दुई लाख ८० हजार बालबालिकालाई लगाइने छ । अभियानसँगै घर र अस्पताल पोलियोको जीवाणु छ कि छैन भनेर पनि परीक्षण गरिने उनको भनाइ छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु