हैजा संक्रमितको संख्या ३० पुग्यो

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार देशभर संक्रमितको संख्या ३० पुगेको छ । ईडीसीडीका अनुसार सबैभन्दा बढी ललितपुरमा १९ र काठमाडौँमा एक गरी उपत्यकामा २० जनामा हैजा पुष्टि भएको छ । यसैगरी कैलालीमा आठ र प्युठानमा दुई जनामा हैजा संक्रमण पुष्टि भएको छ। जसमध्ये प्युठानका दुई हैजा संक्रमितको जिल्ला अस्पतालमा प्युठानमा उपचार भइरहेको छ ।
सबैभन्दा बढी ५ देखि १४ वर्षका बालबालिकालाई हैजा संक्रमण भएको छ । महाशाखाका अनुसार ५ देखि १४ वर्षका ७ जना छन् । यस्तै १५ देखि २४ वर्षका ६ जना, २५ देखि ३४ वर्षका ४ जना, ३५ देखि ४४ वर्षका ५ जना, ४५ देखि ५४ वर्षका ५ जना , ५५ देखि ६४ वर्ष र १४ वर्षमुनिका एक–एक जना हैजा देखिएको छ ।
हैजा भिब्रियो कोलेरा प्रजातिको जिवाणुबाट मानिसमा लाग्ने अति संक्रामक झाडापखाला रोग हो । हैजा दिसाको माध्यमबाट वातावरणमा फैलिन्छ र दूषित खाना वा पानीको माध्यमबाट अर्को व्यक्तिसम्म पुग्छ । हैजामा संक्रमण भएको एक घण्टादेखि पाँच दिनसम्म लक्षणहरु देखिन्छन् ।
हैजा लागेमा तारन्तार सेतो पानी र चामलका दाना आकारका म्युकस दिसाको माध्यमबाट जान्छ । अत्यधिक मात्रामा पातलो सेतो चौलानी जस्तो दिसा हुने, शरीरका माशंपेशी बाउँडिने, वान्ता हुने, थकाइ महसुस हुने आदि लक्षण देखिन्छन् । गम्भीर असर देखिन थालेपछि तत्काल उपचार नभएको खण्डमा बिरामीको मृत्युसमेत हुनसक्छ ।
यस्तै आँखा गाडिनु, मुख, जिब्रो, घाँटी र छाला सुख्खा भए कडा जलविजोजन भएको लक्षण हुन्छ । यस्तै पिसाब पहेँलो हुनु, पिसाब कम मात्रामा हुनु र मुटुको धड्कन अनियन्त्रित हुनु पनि कडा जलवियोजनको संकेत हो ।
हैजाबाट बच्न शौचालयमा मात्रै दिशा पिसाब गर्ने, शहरको बाहिरी फोहोर व्यवस्थापन उचित ठाउँमा गर्ने, दिसा र पिसाब पछि राम्रोसँग मिचीमिची साबुन पानीले हात धुने, खाना बनाउनु अघि साबुन पानीले हात धुने, पानी सधैं उमालेर खाने, काँचै खाने तरकारी तथा सलाद सफा पानीले धोइपखाली खानुपर्ने चिकित्सकको सुझाव छ ।