त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन दिदैनौँ (भिडियोसहित)
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल समाजवादीका केन्द्रिय अध्यक्ष नरेन्द्र सीले कुनै पनि मूल्यमा त्रिभुवन विश्वविद्यालयलाई राजनीतिक अखडा बनाउन नदिने उद्घोष गरेका छन् । शुक्रबार अखिल समाजवादी अखिल क्रान्तिकारी , अनेरास्ववियू , , समाजवादी विद्यार्थी युनियन , नेपाल समाजवादी विद्यार्थी युनियन , अखिल छैठौं र अखिल नेपाल विद्यार्थी युनियनद्वारा आयोजित उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो उद्घोष गरेका हुन्।
अध्यक्ष नरेन्द्र सीले अखिल समाजवादी बिगतदेखि नै शैक्षिक सुधारको पक्षमा भएको उल्लेख गर्दै पछिल्लो समय त्रिभुवन विश्वविद्यालयमा रेक्टर र रजिस्टार नियुक्तिमा भएको चरम राजनीतिक चलखेल स्वीकार्य नहुने बताए। उनले त्रिभुवन विश्वविद्यालयलाई कुनै राजनीतिक दल बिशेषको पार्टी कार्यालय हुन् नदिने ठोकुवा समेत गरे।
स्मरणीय छ , अखिल (समाजवादी)सहित सात विद्यार्थी संगठनले त्रिभुवन विश्वविद्यालयमा भइरहेको पछिल्लो नांगो हस्तक्षेप, गुण्डागर्दी र राज्य संरक्षित आतंकविरुद्ध लगातार बिरोध प्रदर्शन गर्दै आएका छन्। उनीहरुले विद्यमान सत्ता गठबन्धन बने यता विभिन्न ढंगबाट त्रिभुवन विश्वविद्यालयको गरिमामाथि आँच आउने र यसको विकासमा बाधा पुग्ने अत्यन्त गलत अभ्यास, प्रवृत्ति र क्रियाकलाप बढ्दै गएको भन्दै शुक्रबार सात विद्यार्थी संगठनले विश्वविद्यालयको उपकुलपति कार्यालयअगाडि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्।
हाल त्रिभुवन विश्वविद्यालय समाजशास्त्र विभागीय प्रमुखमा अहिले सत्तारूढ दुई दलबीच तानातानको अवस्था छ। नेपाली कांग्रेसनिकट विद्यार्थी समूह र एमालेनिकट विद्यार्थी समूहले आफ्नो मान्छेलाई विभागीय प्रमुख बनाउनुपर्ने भन्दै लिबङ र दबाब दिँदै आएका छन्।
यसैबीच त्रिभुवन विश्वविद्यालयमा सुरक्षाको थ्रेट समेत हुनसक्ने भन्दै उपकुलपति, रजिस्ट्रार र रेक्टर अनुपस्थित रहँदै आएका थिए भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीसमेत रहेकी सहकुलपति विद्या भट्टराईले गृहमन्त्री रमेश लेखकसँग सुरक्षाको प्रबन्ध मिलाइदिन सार्वजनिक अपिल गरेकी थिइन्।