चितवनमा डेंगुका बिरामी पाँच सय नाघ्यो !

काठमाडौँ । जनस्वास्थ्य कार्यालय चितवनले चितवनका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५८८ जनामा डेंगु पुष्टि भएको जनाएको छ । अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३९४ जनाको परीक्षण गर्दा ५८८ जनामा डेंगु पुष्टि भएको हो । जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले विरामीमध्ये ४१७ चितवनका छन् भने १७१ जना जिल्लाबाहिरका रहेका जानकारी दिए।
साउनयता जिल्लाका ७ पालिकामध्ये इच्छाकामना गाउँपालिकामा २३६ जनामा डेंगु देखिएको छ । भरतपुर महानगरपालिकामा १०७ जना, खैरहनीमा ११ जना, रत्ननगरमा ४९ जना, माडीमा तीनजना, राप्तीमा तीनजना र कालिका नगरपालिकामा ३ जनामा डेंगु देखिएको केसीले जानकारी दिए । उनका अनुसार जिल्लामा भेटिएका डेंगुका विरामीमध्ये २२५ जना महिला र १९२ जना पुरुष छन् ।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेंगु देखिने गरेको केसीले बताए। उनले भने, “अहिले साउनको शुरुआतदेखि नै डेंगु देखिन थालेको छ ।”
यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए ।
यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्छ । यी ठाउँमा जम्मा भएको पानी सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले बताए ।