विश्व एड्स दिवस मनाइँदै
काठमाडौँ । आज डिसेम्बर १ तारिख विश्व एड्स दिवस। नेपालसहित विश्वभरि नै ३७ औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि सबैको सुनिश्चतता गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ। राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो । केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ ।
सन् २०१० यता विश्वमा एचआइभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ । अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआइभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ ।
एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका उक्त केन्द्रले जनाएको छ।