अखिल (समाजवादी)ले स्ववियु निर्वाचन बिशेष अभियान चलाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी) ले स्ववियु निर्वाचनको तयारीमा अभियान चलाउने निर्णय गरेको छ । सोमबार लमहीको देउखुरी बहुमुखी क्याम्पसमा बसेको संगठनको दोस्रो बैठकले उक्त निर्णय गरेको हो । बैठकले सबै जिल्लाका बैठकहरु तत्काल बस्ने, स्ववियु केन्द्रित अभियान चलाउने, शैक्षिक विकृति एवम विसंगतिका विरुद्ध संघर्ष गर्ने, समाजवादी शिक्षाप्रणालीका बारेमा अन्तरक्रिया गर्ने लगाएतका निर्णयहरु गरेको छ ।
बैठकमा नेकपाका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सीले आसन्न स्ववियु समाजवादी शिक्षा प्राप्तिको रुपमा प्रयोग गर्न आग्रह गरिन् । उनले भनिन्– ‘गौरवपुर्ण नेपाली विद्यार्थी आन्दोलन सेलाएको जस्तो भएको छ । अब यसलाई प्रज्वलित गर्ने जिम्मेवारी अखिल समाजवादीको हो । स्ववियु आउँदैछ, यो स्ववियुलाई समाजवादी शिक्षा प्रणाली, समाजवादी राज्यप्रणालीको अभियानका रुपमा लैजानुहोस । नेपालका विद्यार्थीले अहिलेको शिक्षा प्रणाली र पद्दतिको विकल्प खोजेका छन्, त्यसको विकल्प यो संगठन बन्नुपर्दछ । जहाँ विद्यार्थी त्यहाँ अखिल (समाजवादी) को नारासहित प्रदेशभरी अभियान चलाउनुस्, संगठनलाई परिचालन गर्नुस् । यो स्ववियु कुनैपनि हालतमा बुर्जुवाहरुको हातमा जानू हुँदैन्, यो समाजवादीहरुले चलाउने गरि सोच्नुपर्दछ ।’
नेता सम्झनाले स्ववियु निर्वाचन क्लिन स्विप गर्नेगरी अभियान थाल्न संगठनलाई निर्देशन गरिन् ।
यस्तै कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सीले विद्यार्थीलाई वैकल्पिक राजनीतिक विचारले प्रशिक्षित गर्दै निर्वाचनमा होमिन आग्रह गरे । उनले विद्यार्थी एक सचेत वर्ग भएकाले निर्धक्कका साथ अहिलेको दलाल पुजीवादी राज्यसत्ता संकटको सचेतना फैलाउँदै समाजवादी एजेन्डाका साथ निर्वाचनमा जाने कुरामा ध्यान दिन निर्देशन गरे । उनले लाखौं विद्यार्थी समाजवादको पक्षमा रहेकाले स्ववियुको नेतृत्व अखिल (समाजवादी) ले गर्ने विश्वास व्यक्त गरे ।
नेकपाका केन्द्रीय सदस्य एवम लुम्बिनी प्रदेश जवस/मोर्चा इन्चार्ज सम्झना सीको प्रमुख आतिथ्यतामा बसेको बैठकमा पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला इन्चार्ज सविन सी, पार्टीका केन्द्रीय सदस्य एवम दाङ जिल्ला सचिव तिलक सी, संगठनका केन्द्रीय सचिवालय सदस्य अनिल सी, जनपत्रकार संगठन नेपालका लुम्बिनी प्रदेश संयोजक हेमन्तप्रकाश वली लगाएतको आतिथ्यता रहेको थियो ।
बैठकको अध्यक्षता एवम सहजीकरण संगठनका केन्द्रीय सचिव एवम लुम्बिनी प्रदेशका इन्चार्ज मदन सीले गरेका थिए । – हेमन्तप्रकाश वली