एसईईको तयारी पूरा, चैत ७ देखि परीक्षा

२०८१ फाल्गुन २८ गते, बुधबार

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालय, कक्षा १० ले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारी पूरा भएको जनाएको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलले आगामी चैत ७ देखि हुने परीक्षाको तयारी पूरा भएको र सबै जिल्लामा प्रश्नपत्र पुगिसकेको जानकारी दिए।
उनका अनुसार यस वर्षको एसईईमा पाँच लाख आठ हजार ३९० जना विद्यार्थी सहभागी हुँदै छन्। नियमिततर्फ चार लाख ३३ हजार र ग्रेडवृद्धितर्फ ७५ हजार २४५ जनाले परीक्षा दिनेछन्।
यस बर्ष विशेष परीक्षा केन्द्रअन्तर्गत सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र तोकिएको छ। काठमाडौं र दैलेखका दुई कारागारबाट विद्यार्थीले एसईई दिनेछन्। भक्तपुरको सुधार गृहबाट पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ।
यसैगरी, कीर्तिपुरस्थित सफलता एचआईभी शिक्षा सदनबाट पनि विद्यार्थी सहभागी हुँदै छन्, जहाँ चारजना एचआईभी संक्रमित विद्यार्थीले परीक्षा दिनेछन्।
यसैगरी, यस वर्षको एसईईको नतिजा लेटर ग्रेडिङ प्रणाली अनुसार नै हुनेछ। परीक्षा चैत १९ सम्म सञ्चालन हुने तालिका छ।

प्रतिक्रियाहरु

[anycomment]