नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको उद्घोष

काठमाडौँ । नेपाल शिक्षक महासंघले यही चैत २० गतेदेखि काठमाडौं केन्द्रित बृहत् आन्दोलन गर्ने उद्घोष गरेको छ। सो महासंघ आबद्ध-सम्बद्ध संस्थाका अध्यक्षहरुले संयुक्त अपील जारी गर्दै चैत्र २० गतेबाट काठमाडौं केन्द्रित सडक आन्दोलन हुने र उक्त आन्दोलनमा देशभरका सबै शिक्षक- कर्मचारी साथीहरुलाई अनिवार्य काठमाडौं आउन र विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलनको मोर्चामा निरन्तर डटिरहन जोडदार अपीलसमेत गरेको छ।
महासंघका अनुसार पहिलो चरणका आन्दोलनका कार्यक्रम सकेर दोस्रो चरणको आन्दोलन घोषणा गरेपछि शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले संवाद गर्न बोलाएको तर,वार्तामा नजाने निर्णय लिएको जनाएको छ।
यस बिषयमा नेपाल शिक्षक.महासङ्घका आबद्ध-सम्बद्ध संस्थाका अध्यक्षहरुले बिहिबार जारी गरेको अपील यस प्रकार रहेको छ – ‘नेपाल शिक्षक महासङ्घ २०८१ माघ २० गतेबाट निरन्तर आन्दोलनमा छ । यसक्रममा आन्दोलनको प्रथम चरण पूरा भई दोस्रो चरण सफलतापूर्वक चलिरहेको छ । विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न एकपटक फेरि अझ बलियो र ठूलो आन्दोलन उठाउनु पर्ने भएको छ । यसका लागि २०८१ चैत्र २० गतेबाट वारपारको लडाईको रुपमा काठमाडौं केन्द्रित सडक आन्दोलन गरिदैछ । यसर्थ देशभरका सबै शिक्षक- कर्मचारी साथीहरुलाई अनिवार्य काठमाडौं आउन र विद्यालय शिक्षा ऐन जारी नभएसम्म सो जान्दोलनको मोर्चामा निरन्तर डटिरहन जोडदार अपील गर्दछौ । यो आन्दोलन अवधिमा नेपाल सरकार, प्रदेश सरकार
तथा ती अन्तर्गतका निकाय एवम् स्थानीय तह लगायतबाट राखिएका तालिम, गोष्ठी, सेमिनार तथा सार्वजनिक कार्यक्रम एवम् उत्तर पुस्तिका परीक्षण तथा सम्परीक्षण जस्ता कार्यमा समेत संलग्न नहुन सबै शिक्षक-कर्मचारी साथीहरुमा आग्रह गर्दछौं । साथै आजै काठमाडौंमा भएको एउटा सार्वजनिक कार्यक्रममा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाबाट विद्यालयका शिक्षकमाथि व्यक्त गरिएको अमर्यादित र अशोभनीय अभिव्यक्तिप्रति खेद प्रकट गर्दछौं ।
हस्ताक्षर कर्ताहरुः
१. सोमनाथ गिरी – अध्यक्ष, नेपाल शिक्षक सङ्घ
२. विष्णुप्रसाद भण्डारी – अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन
३. शङ्कर अधिकारी- अध्यक्ष, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन
४. लछिराम शर्मा ढकाल- अध्यक्ष, अखिल नेपाल शिक्षक सङ्गठन
५. सानोभाइ कार्की – अध्यक्ष, अखिल नेपाल शिक्षक सङ्घ
६. कुमोद कुमार सिंह – अध्यक्ष, राष्ट्रिय शिक्षक मञ्च
७. रवीन्द्र गिरी – अध्यक्ष, सङ्घीय शिक्षक फोरम
८. हिक्मत बस्नेत – अध्यक्ष, प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक सङ्गठन
९. विष्णु चौधरी – अध्यक्ष, मधेशी शिक्षक फोरक लोकतान्त्रिक
१०. अतुलकुमार लाल – अध्यक्ष, लोकतान्त्रिक शिक्षक युनियन
११. यादवराज पाण्डेय- अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक परिषद
१२. विजयरत्न बज्रचार्य – अध्यक्ष, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठन
१३. रमाकान्त चौधरी-अध्यक्ष, मधेशी आदिवासी शिक्षक संरक्षण मञ्च
१४. गङ्गाराम तिवारी – अध्यक्ष, नेपाल विद्यालय कर्मचारी परिषद
१५. होम कुमार थापा-अध्यक्ष, संस्थागत विद्यालय शिक्षक युनियन’
