चिकित्सक संघद्वारा सम्पूर्ण स्वास्थ्य संस्थाहरू बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान

काठमाडौं । नेपाल चिकित्सक संघले आवासीय चिकित्सकहरूलाई सरकारी आठौं तह सरह निर्वाह भत्ता प्रदान गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । बिहीबार काठमाडौंको माइतीघर मण्डलामा आन्दोलनरत चिकित्सक र स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलबीच भएको वार्ता निष्कर्षविहीन भएपछि सङ्घले थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो ।
सङ्घले आज देशभरका सरकारी अस्पताल, प्रतिष्ठान, मेडिकल कलेज, क्लिनिक लगायत सम्पूर्ण स्वास्थ्य संस्थाहरू बन्द गरेर आन्दोलनमा ऐक्यबद्धता जनाउन आह्वान गरेको हो ।
सङ्घले केन्द्रमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय घेराउ र जिल्ला प्रशासन कार्यालय घेराउलाई पनि निरन्तरता दिने जनाएको छ । यसअघि सङ्घले २४ घण्टाभित्र आफ्ना मागहरू सम्बोधन नभए वैशाख १२ गतेदेखि देशभर आकस्मिक र सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको थियो ।
चिकित्सा शिक्षा आयोगले गत माघ २५ गते निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकहरूलाई सरकारी आठौं तह सरह ४८ हजार रुपैयाँ निर्वाह भत्ता लगायतका सेवा–सुविधा उपलब्ध गराउनुपर्ने निर्णय गरेको थियो । तर, निजी मेडिकल कलेज सञ्चालकहरूले दुई महिनाभन्दा बढी समय बितिसक्दा पनि उक्त निर्णय कार्यान्वयन नगरेको चिकित्सक संघको आरोप छ ।
सरकारले सुनिश्चित गरेको निर्वाह भत्ता कार्यान्वयनको माग गर्दै आवासीय चिकित्सकहरू तीन हप्तादेखि निरन्तर सडकमा उत्रिएर आन्दोलन गरिरहेका छन् । चिकित्सक सङ्घको पछिल्लो घोषणाले देशभरको स्वास्थ्य सेवा थप प्रभावित हुने देखिएको छ ।