शिक्षक र प्रहरीबिच झडप: दर्जनौ शिक्षक घाइते

काठमाडौँ । प्रहरीसँगको झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका छन् । यसअघि शान्तिपूर्ण प्रदर्शन गर्दै आइरहेका शिक्षकहरू २६ औं दिनमा निषेधित क्षेत्र तोडेर बानेश्वरबाट संसद भवनतर्फ अघि बढ्न खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपमा परी ६३ जना शिक्षक तथा विद्यालय कर्मचारी घाइते भएका हुन् ।
यसैबीच, नेपाल शिक्षक महासंघका महासचिव तुलाबहादुर थापाले घटनाको महासंघले घोर भर्त्सना गर्ने बताए। उनले विगत २६ दिनदेखि शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरीले फोहोरा प्रयोग गरेर शिक्षकहरूलाई घाइते बनाएको बताए। उनले भने-‘हाम्रो शान्तिपूर्ण आन्दोलनमा प्रहरीले फोहोरा पानी प्रयोग गर्याे,१४ जना भन्दा बढी शिक्षकहरू घाइते भएका छन्,यो घटनाप्रति महासंघ घोर भर्त्सना गर्दछ।’
उनका अनुसार दिउँसाे ३ बजे बैठक बस्ने छ। त्यसपछि थप आन्दोलनका रणनीति तय गरिने छ।
शिक्षक र कर्मचारीमैत्री ऐन जारी गर्न माग गर्दै शिक्षकहरुले गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् । उनीहरुले चैत २५ गतेदेखि शैक्षिक आमहड्ताल घोषणा समेत गरेका छन् । यसबीचमा शिक्षक र सरकारका प्रतिनिधिबीच सहमतिको प्रयास भए पनि सहमति जुट्न सकेको छैन ।
सरकारी शिक्षकहरुको आन्दोलन निरन्तर जारी भएकाले नयाँ शैक्षिक सत्रको भर्ना अभियान, एसईईको उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को वार्षिक परीक्षा समेत प्रभावित भएको छ । वैशाख ११ गते हुने भनिएको कक्षा १२ को परीक्षा वैशाख २१ गतेसम्मका लागि स्थगित गरिएको छ ।