विद्यालय कर्मचारीद्वारा आन्दोलनको घोषणा

काठमाडौँ । नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्ले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । परिषद्ले बब्बनकुमार मिश्रलाई आन्दोलन परिचालन कमिटीको संयोजक तोकेको छ । यसअघि एक महिना लामो आन्दोलनमा विद्यालय शिक्षक कर्मचारी पनि सहभागी भएका थिए । आन्दोलन वैशाख २१ देखि सञ्चालन हुनेछ । कक्षा १२ को परीक्षमा कालोपट्टी बाँधेर काम गर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारीले बताए ।
आन्दोलनको झण्डै एक महिनापछि बुधबार राति सरकार र शिक्षक महासंघबीच नौ बुँदे सहमति भएको थियो । सहमतिसँगै शिक्षक आन्दोलन फिर्ता भएको छ । तर, सरकार र शिक्षक महासंघबीच भएको नौ बुँदे सहमतिमा आफ्ना माग सम्बोधन नभएको भन्दै उनीहरूले छुट्टै आन्दोलन घोषणा गरेका हुन् । विद्यालय कर्मचारी, राहत, बाल विकासलगायत कोटाका कर्मचारी शिक्षकलाई अलपत्र पारेको आरोप परिषद्को छ ।