‘नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गर्यो’

काठमाडौँ । नेपाल शिक्षक महासंघले सरकारको नीति तथा कार्यक्रमले सामुदायिक विद्यालयको मानमर्दन गरेको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बिज्ञप्ति जारी गर्दै नीति तथा कार्यक्रमको बुँदा नम्बर ६५ र ६६ ले सामुदायिक विद्यालयको मानमर्दन गरेको जनाएका हुन् ।
अध्यक्ष सुवेदीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘वक्तव्यको बुँदा नं ६६ ले पाठ्यक्रमबारे सरकारको अज्ञानता प्रकट गरेको छ भने सोही वक्तव्यको बुँदा नं. ६५ मा व्यक्त भएको विषयले सामुदायिक विद्यालयको मानमर्दन गरेको छ। ’
गत १९ वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गरेका थिए । जसमा भनिएको छ, ‘संस्थागत-सामुदायिक विद्यालय साझेदारी कार्यक्रम लागू गरी संस्थागत विद्यालयहरूको सहभागितामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याइनेछ ।’
त्यसैगरी बुँदा ६६ मा निजी र सरकारीको पाठ्यक्रममा एकरुपता बनाउने भनिएको छ । यसमा स्पष्ट नभएको महासंघको ठहर छ । ‘संस्थागत एवम् सामुदायिक विद्यालयका पाठ्यक्रममा एकरूपता ल्याइनेछ। सबैको पहुँचसहितको भर्चुअल शिक्षण प्रणाली, विद्यार्थी परामर्श प्रबन्ध, अन्तरक्रियात्मक इ-लर्निङ सामग्रीको डिजिटल प्लेटफर्म व्यवस्था तथा शिक्षक मेन्टरिङमा आधारित आकर्षक शिक्षण-कलामा सघन तालिमको व्यवस्था गरिनेछ’, नीति तथा कार्यक्रममा भनिएको छ ।
अध्यक्ष सुवेदीद्वारा जारी बिज्ञप्तिमा सामुदायिक विद्यालयलाई मानमर्दन गर्ने विषय हटाउन माग गर्दै भनिएको छ – ‘यस्तो कुरा किमार्थ स्वीकार्य नहुने जानकारी गराउँदै उक्त बुँदा अविलम्ब हटाउन माग गर्दछौं। ’