विद्यालय कर्मचारी कालोपट्टी बाँधेर काम गर्दै

काठमाडौँ । नेपाल शिक्षक महासंघले धोका दिएको भन्दै विद्यालय कर्मचारी परिषद्ले चरणबद्ध आन्दोलन घोषणा गरे अनुसार विद्यालय कर्मचारीहरूले हातमा कालोपट्टी बाँधेर कर्मचारीहरूले काम गरिरहेका छन।
विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगारम तिवारीले आन्दोलन जारी रहेको बताउदै भने- ‘ जेठ २ गतेसम्म कालोपट्टी बाँधेर आन्दोलन गर्छौं, ‘वरिष्ठ उपाध्यक्ष प्रदीप श्रेष्ठ, महासचिव शान्तिराम योगी र मैले माग सम्बोधन गर्न मन्त्रालयसँग पहल गरिरहेका छौं ।’
गत १७ वैशाखमा सरकार र शिक्षक महासंघबीच ९ बुँदे सहमति भएको थियो । त्यसमा कर्मचारीले विरोध जनाएका थिए ।
‘लेखापालको मासिक तलब खरदारसहर ३२ हजार ९ सय २ रुपैयाँ र विद्यालयको कार्यालय सहयोगीको २६ हजार ८२ रुपैयाँ बनाउने भनेर महासंघसँग हाम्रो सहमति थियो तर सरकारसँग सम्झौता हुँदा तोकिएबमोजिम भनेर आयो । तोकिएबमोजिम भनेको कति हो ?,’ परिषद्का अध्यक्ष तिवारीले भने, ‘ऐन बनेर नियमावली बनेर आउने रे । त्यो पनि कहिले बन्ने हो ? २०८३ मा ऐन आउला, नियमावली आउला । त्यतिबेलासम्म के खाने ? कर्मचारी चाहिँ भोकै मर्ने ?’