धुम्रपानको लत त्याग्न हेल्प लाइन !

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धुम्रपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि हेल्प लाइन सेवा ल्याएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले विश्व सुर्तीजन्य पदार्थरहित दिवसको अवसरमा सो हेल्पलाइन सेवाको शुभारम्भ गरेका हुन् ।
लत त्याग्न ११३२ मा कल गरेर परामर्श सेवा लिन सकिन्छ । उक्त परामर्श सेवा निःशुल्क रहेको छ । स्वास्थ्यमन्त्री पौडेलले हेल्पलाइन सेवा सुर्तीजन्य पदार्थ नियन्त्रणमा सकरात्मक कदम हुने बताए । उनले भने- ‘सुर्तीजन्य पदार्थ नियन्त्रणमा सहयोग पुग्छ भनेर हेल्पलाइन सेवा ल्याएका हौं । सुर्तीजन्य पदार्थ नियन्त्रण, न्यूनीकरण तथा जनचेतना विस्तार गर्ने सम्बन्धमा केही उपलब्धि हात पारेका छौं । उत्पादन र आयात रोक्न सकिंदैन तर उपभोक्ता घटाउन कसरी सकिन्छ भन्ने विधिमा जोड दिनुपर्छ। ‘
उनले सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न यस्ता पदार्थमा कर बढाउने, यसको सेवनलाई निरुत्साहित गर्न जनचेतना अभिवृद्धिको खाँचो सबै तहबाट रहेको बताए ।
स्वास्थ्य सचिव डा. विकास देवकोटाले युवाहरु सुर्तीजन्य पदार्थको बढ्दो प्रयोग चिन्ताजनक रहेको बताए । उनले भने- ‘पछिल्लो समय भेपको प्रयोग एकदमै बढेको देखिन्छ । युवाहरुलाई यो लत नियन्त्रण गर्न के गर्ने त? हामीले प्रयास गरिरहेका छौं । यो प्रयास स्वास्थ्यमन्त्रायले एक्लैले गर्न सक्दैन । सबैको समन्वय र सहकार्य चाहिन्छ । जनचेतना फैलाउन काम गर्नुपर्छ । व्यक्ति, घर, संगत, विद्यालय, कार्यस्थललगायतको ठाउँमा सुर्तीजन्य पदार्थको सेवन प्रोत्साहित हुने वातावरणलाई नियन्त्रण गर्नुपर्छ। ‘
दिवसको अवसरमा सुर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्री, वितरण तथा सेवन गर्ने कार्यलाई नियन्त्रण र न्यूनीकरण गर्न योगदान पुर्याएका संघसंस्था र पत्रकार गरी ७ जनालाई ‘स्वास्थ्यमन्त्री ब्लूमबर्ग जनस्वास्थ्य पुरस्कार’बाट पुरस्कृत समेत गरिएको थियो ।
हरेक वर्ष मे ३१ मा विश्व सुर्तीजन्य पदार्थ रहित दिवस मनाइने गरेको छ । यस वर्षको नारा ‘सूर्तीजन्य उद्योगको आकर्षक चाल, प्राणघातक असर चिरौं यो मोहजाल’ रहेको छ ।