श्रावण : डेंगी सचेतना महिना
 
                
काठमाडौँ । स्वास्थ्य मन्त्रालयले डेंगी संक्रमण नियन्त्रण गर्न डेंगी सचेतना राष्ट्रिय अभियान घोषणा गरेको छ। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले डेंगी नियन्त्रण गर्नका लागि श्रावण महिनालाई डेंगी सचेतना महिनाका रूपमा राष्ट्रिय अभियान सञ्चालन गर्ने घोषणा गरेका हुन्।
डेंगी सचेतना राष्ट्रिय अभियान घोषणा गर्दै स्वास्थ्य मन्त्री पौडेलले श्रावण महिनाबाट डेंगी संक्रमणको जोखिम हुने भएकाले सचेतना अभियान सञ्चालन गर्न लागिएको बताए।
उनले डेंगी संक्रमणबाट आम नागरिकलाई जोगाउने दायित्व सरकारको भएकाले त्यसलाई पुरा गर्न डेंगी सचेतनाबाहेक अरु कुनै विकल्प नरहेको बताए। मन्त्री पौडेलले लामखुट्टे र लार्भा उत्पादन हुने आधारलाई नष्ट गर्न अबको चार महिना सबै नागरिकका साथै निकायहरू सजक हुनुपर्ने धारणा राखे।
उनले डेंगी सचेतना राष्ट्रिय अभियान कार्यान्वयनको विषय सरकारको मात्रै समाजको पनि भएकाले सबै एक भएर डेंगीमा केन्द्रित हुनुपर्नेमा जोड दिए।
स्वास्थ्य मन्त्रालयले डेंगी संक्रमण भदौदेखि कात्तिकसम्म उच्च रहने जनाएको छ। सन् २०२४ मा विश्वभर १ करोड ४० लाखभन्दा बढी व्यक्तिहरूमा डेङ्गी संक्रमण भएको र ११ हजारभन्दा बढीको मृत्यु भएको स्वास्थ्य सेवा विभागले जनाएको छ। मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा मात्रै नेपालमा ५० हजारभन्दा बढी डेंगी संक्रमित भएका छन्।

 
                 
                             
                             
                         
                         
                        