१६ विद्यार्थी सङ्गठनद्वारा ५ बुँदे ध्यानाकर्षण पत्र जारी

२०८२ श्रावण १७ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)लगायत १६ विद्यार्थी सङ्गठनले विद्यालय शिक्षा विधेयक, २०८० र स्ववियु : विद्यार्थी कल्याण परिषद्‌को निर्वाचनप्रति विश्वविद्यालयहरूको पूर्वाग्रही दृष्टिकोणको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।
१६ विद्यार्थी सङ्गठनले शुक्रबार ५ बुँदे विज्ञप्ति जारी गर्दै नेपाल सरकार, सङ्घीय संसद्, विषयगत संसदीय समिति, विश्वविद्यालयहरू लगायतका सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छन ।
नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (समाजवादी)लगायत १६ विद्यार्थी सङ्गठनले संयुक्त बिज्ञप्तिमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका ५ बुँदा यस प्रकार रहेका छन –
१. सरकारले पटक पटक विद्यालय शिक्षा ऐन जारी गर्ने प्रतिबद्धता जनाए पनि ऐन जारी हुन नसक्नु सरकारद्वारा विद्यार्थीका मुद्दा र विधेयकप्रति देखाइएको उपेक्षा हो । तसर्थ, अविलम्ब विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्न संयुक्त विद्यार्थी सङ्गठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ।
२. नेपालको संविधान, २०७२ को धारा ३१ मा व्यवस्था भएको शिक्षा सम्बन्धी हक बमोजिम प्रत्येक नागरिकले माध्यमिक तहसम्मको शिक्षा पूर्णतः निःशुल्क प्राप्त गर्न पाउनुपर्ने व्यवस्था अविलम्ब अक्षरशः कार्यान्वयन गर्न संयुक्त विद्यार्थी सङ्गठन सरकारसँग जोडदार माग गर्दछ ।
३. शिक्षा ऐन, २०२८ ले निर्माण गरेका विभिन्न प्रकारका शिक्षक र कर्मचारीहरूको उपयुक्त व्यवस्थापनको दायित्व राज्यले लिनुपर्ने र शिक्षकको योग्यता गुणस्तरीय विद्यालय शिक्षाको मानक भएकाले विद्यालयका शिक्षक नियुक्ति प्रक्रिया संविधानले अङ्गीकार गरेको समावेशी मूल्य मान्यतासहितको योग्यता प्रणालीमा आधारित शतप्रतिशत खुला प्रतिस्पर्धामार्फत मात्र हुने व्यवस्था विद्यालय शिक्षा ऐनमा सुनिश्चित गर्न संयुक्त विद्यार्थी सङ्गठन सरकार र सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछ ।
४. विद्यालय शिक्षा विधेयक विद्यार्थीहरूको प्रत्यक्ष सरोकार र चासोको विषय भएकोले संयुक्त विद्यार्थी सङ्गठनको अनिवार्य सहभागितामा सर्वपक्षीय संवाद, बार्ता र छलफलमार्फत मात्र विधेयक अघि बढाउन सरकार, विषयगत संसदीय समिति र सम्बन्धित निकाय समक्ष संयुक्त विद्यार्थी सङ्गठन जोडदार माग गर्दछ ।
५. त्रिभुवन विश्वविद्यालय लगायतका अन्य विश्वविद्यालयहरूको ऐनमा व्यवस्था भएको विद्यार्थीको प्रतिनिधिमूलक साझा संस्था स्वतन्त्र विद्यार्थी युनियन र कल्याण परिषद्‌को निर्वाचन अविलम्ब सम्पन्न गर्न नेपालमा स्थापित सम्पूर्ण विश्वविद्यालय समक्ष संयुक्त विद्यार्थी सङ्गठन जोडदार माग गर्दछ।

प्रतिक्रियाहरु

[anycomment]