मिर्गौला निकाल्ने गिरोहका ४ जना पक्राउ

काठमाडौँ । मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले नेपाली युवालाई भारतमा लगेर मिर्गौला निकाल्ने गिरोहका ४ जना काठमाडौं र काभ्रेबाट पक्राउ गरेको छ । टोलीले काठमाडौं र काभ्रेबाट २/२ जनालाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानमा गिरोहले पछिल्लो एक वर्षमा मात्रै कम्तीमा ५० जनालाई भारतका दिल्ली र नोयडा पुर्याएर मिर्गौला निकालेको खुलेको छ ।
संगठित गिरोहले प्रतिव्यक्ति ५ देखि ७ लाखसम्म रकम दिएर नेपाली युवालाई भारत पुर्याएर मिर्गौला निकाल्ने गरेको खुलेको ब्युरो प्रमुख एसएसपी कृष्ण पंगेनीले बताए । ‘संगठित गिरोहले देशका विभिन्न जिल्लाबाट युवालाई भारत पुर्याएर मिर्गौला निकाल्ने गरेको खुलेको छ,’ उनले भने, ‘कति व्यक्तिलाई भारत पुर्याइयो र कसलाई कति रकम दिएर मिर्गौला निकालियो भन्नेमा अनुसन्धान जारी छ ।’ मिर्गौला निकालिएका केही व्यक्ति प्रहरी सम्पर्कमा आएको पनि उनले बताए ।
गिरोहले आर्थिक अवस्था नाजुक भएका व्यक्तिलाई प्रलोभन दिएर भारत पुर्याउने र त्यहीँ मिर्गौला निकालेर नेपाल पठाउने गरेको पाइएको छ ।यसअघि काभ्रेका होक्सेलगायत ठाउँका मानिसलाई गिरोहले यसैगरी संगठित रुपमा भारत पुर्याएर मिर्गौला निकाल्ने गरेको तथ्य उजागर भएको थियो । एसएसपी पंगेनीले ब्युरोबाट गिरोहको धन्दामाथि विशेष अपरेसन चलाइएको र यही क्रममा ४ जनालाई पक्राउ गरिएको बताए ।