देशभर डेंगु संक्रमण बढ्दै

काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले पछिल्लो समय काठमाडौं उपत्यका र देशका धेरै जिल्लामा डेंगुको संक्रमण बढ्दै गइरहेको जनाएको छ । सन् २०२५ को सुरु अर्थात गत पुसको मध्यदेखि हालसम्म २ हजार ९५२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । डेंगु ७४ जिल्लामा फैलिएको छ भने गत एक हप्तामात्र १८० नयाँ संक्रमित थपिएका छन् । ईडीसीडीको पछिल्लो तथ्यांक अनुसार बागमती प्रदेशमा २९८, कोशीमा ४७, गण्डकीमा २७, सुदूरपश्चिममा २४, लुम्बिनीमा २२, मधेशमा १८ र कर्णालीमा ६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य विज्ञहरूले वास्तविक संक्रमितको संख्या रिपोर्ट भएकाभन्दा धेरै हुन सक्ने बताउँछन् । ईडीसीडीले उपलब्ध तथ्यांक राष्ट्रिय प्रणालीमा रिपोर्ट भएको सरकारी तथ्यांक वास्तविक डेंगु संक्रमणको एक सानो भाग मात्र भएको हो । चिकित्सकका अनुसार १० हजार मानिसलाई डेंगु भयो भने १ हजारमा मात्र लक्षण देखा पर्छन् । बाँकी ९ हजार मानिसमा लामखुट्टेलाई संक्रमण गर्न सक्ने क्षमता हुन सक्छ । सुरुमा भाइरस छिरेपछि शरीरमा रोगसँग लड्ने क्षमता (एन्टिबडी) नबन्दासम्मको समयमा लामखुट्टेले टोकेमा शरीरको भाइरसले लामखुट्टेमा संक्रमण हुन्छ ।
एक पटक लामखुट्टे संक्रमित भएपछि उसका वंशजहरूमा समेत संक्रमण हुने गर्छ ।
‘डेंगुका बिरामी लक्षण नदिखिने, स्वास्थ्य संस्थामा नजाने, परीक्षणमा नहुने वा रिपोर्ट पनि हुँदैन,’ ईडीसीडीका किट जन्य रोग नियन्त्रणका प्रमुख गोकर्ण डा. दाहालले स्पष्ट पार्दै भने, ‘सरकारी तथ्यांकभन्दा दशौं गुणा डेंगुका बिरामी समुदायमा छन् भन्ने बुझिन्छ ।’
धेरै बिरामीले लक्षण विहीन अवस्थामा समुदायमा अन्य व्यक्तिलाई संक्रमण सारिरहेको अवस्था रहेको डा. दाहालले बताए ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले डेंगुका लक्षण लिएर आउने संख्या बिस्तारै बढ्दै छ । ‘टेकुमा बिहिबार तीन जना डेंगु संक्रमित बिरामी उपचाररत छन् । उनीहरूको जनर्रल वार्डमा राखेर उपचार भइरहेको छ,’ डा. बसौलाले भने, ‘ मनसुनपछिको अवधिमा संक्रमण बढ्ने भएकाले आगामी दिनमा डेंगु संक्रमित संख्या बढ्नसक्छ ।’
एडिस एजेप्टाई र एडिस एल्बोपेक्टस नामक लामखुट्टेको टोकाइबाट लाग्ने डेंगु संक्रमण नेपालमा पहिलो पटक २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा भेटिएको थियो ।
त्यसपछि २००६ मा तराई र भित्री मधेशका केही जिल्लामा डेंगुका बिरामी भेटिएका थिए । २०२० मा धरानबाट फैलिएको डेंगुबाट १८ हजार मानिस संक्रमित भए, ४३ जिल्लामा फैलिएको डेंगुले १२ जनाको मृत्यु भयो । त्यसयता हरेक वर्ष ठूलो संख्यामा संक्रमित देखिन थालेको छ । अब यो रोग स्थानीय रूपमा फैलिने भएकाले वर्षभरि जोखिम रहिरहेको छ ।
सन् २०२२ मा डेंगु संक्रमित ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित भए । उनीहरूमध्ये ८८ जनाको मृत्यु भएको थियो । २०२३ मा कोशी प्रदेशमा डेंगु फैलिएको थियो । २० जना मृत्यु हुँदा ५२ हजारभन्दा बढी संक्रमित भएका थिए । सन् २०२४ मा १५ जनाको मृत्यु र ४१,८६५ जना संक्रमित भएका थिए ।