अभिभावक संघद्वारा शिक्षक महासंघ र प्याब्सनलाई चेतावनी

२०८२ श्रावण ३० गते, बिहीबार


काठमाडौँ । नेपाल राष्ट्रिय अभिभावक संघले शिक्षक महासंघ र निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन तथा एनप्याब्सनले आन्दोलनको घोषणा गरेपछि त्यसको विरोध गरेको छ। संघले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूको पढ्न पाउने अधिकारमाथि खेलवाड नगर्न र विद्यालय बन्द नगर्न चेतावनी दिएको छ।
उनीहरूले विद्यालय बन्द गर्ने कुनै पनि आन्दोलनप्रति आफ्नो असहमति रहेको जनाउँदै यस्तो अवस्था आउन नदिन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
शिक्षक महासंघले विद्यालय शिक्षा विधेयकमाथि असन्तुष्टि व्यक्त गर्दै भदौको दोस्रो सातादेखि आन्दोलन गर्ने घोषणा गरेको छ भने प्याब्सन र एनप्याब्सनले पनि आजैदेखि आन्दोलनका कार्यक्रमहरू सुरु गरेका छन्।
यद्यपि, उनीहरूले अहिलेसम्म विद्यालय बन्द गर्नेजस्ता कार्यक्रमहरू घोषणा गरिसकेका छैनन्, तर अभिभावक संघले त्यसअघि नै विद्यालय बन्द हुन नहुने भन्दै चेतावनी जारी गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]