डेंगु संक्रमण ह्वातै बढ्यो !

२०८२ भाद्र ७ गते, शनिबार


काठमाडौँ । स्वास्थ्य सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)का अनुसार पछिल्लो एक साताको अवधिमा ७४ जिल्लामा २११ जना डेंगुका नयाँ विरामी भेटिएका छन्। योसँगै देशभर ३ हजार २४७ जनामा डेंगु संक्रमण भएको छ भने यही समयमा २ जना सङ्क्रमितको मृत्यु भएको इडीसिडीले जनाएको छ।
यस्तै गत जनवरी यता सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९१४ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा ६७५, कोशीमा ५६८ लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेशमा ६२ जनामा डेंगु पुष्टि भएको छ। यस्तै जिल्लागत रूपमा हेर्दा काठमाडौँ र कास्कीमा डेंगुका धेरै विरामी भेटिएका छन्। हाल काठमाडौँमा ३१० र कास्कीमा ३१३ जना संक्रमित भेटिएका छन्।
डेंगु संक्रमण भएको पोथी जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो।
नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो। साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रामा डेंगु संक्रमण बढ्ने उच्च जोखिम छ।
पछिल्ला वर्षहरूमा वर्षायाममा डेंगु गम्भीर स्वास्थ्य समस्याको रूपमा देखिने गरेको छ। पहिलोपटक भारतबाट आएका एक व्यक्तिमा डेंगु देखिए पनि पछिल्ला वर्ष नेपालमा वर्षाको समयमा डेंगु रैथाने रोगजस्तै हुन थालेको छ। यसबाट बच्न झुल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगु सङ्क्रमण रोकथाम गर्न सकिन्छ। डेंगु संक्रमणको जोखिम रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई लामखुट्टे खोज्ने र लस्ट गर्ने अभियानै सञ्चालन गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]