वीरगञ्जका ७१ जनामा हैजाको संक्रमण

२०८२ भाद्र ९ गते, सोमबार

काठमाडौँ । वीरगञ्ज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजुप्रसाद साहले पर्साको वीरगञ्जमा हैजाको लक्षण देखिएका २५४ मध्ये ७१ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए। उनका अनुसार केहीको नमुना संकलन गरी पठाएकाले रिपोर्ट आउन बाँकी छ।
खासगरी नारायणी अस्पताल, तराई हस्पिटल, नेसनल मेडिकल कलेज, वीरगञ्ज हेल्थ केयर लगायतका अस्पतालमा सामान्य अवस्थाभन्दा धेरै बिरामी भर्ना भइरहेका छन्। बिरामीको चाप बढ्न थालेपछि नारायणी अस्पतालले चिकित्सक र कर्मचारीहरुलाई बिदा नबस्न उर्दी जारी गरेको छ। बिदामा रहेका चिकिसकहरुलाई समेत तुरन्त हाजिर हुन निर्देशन दिएको छ। यस्तै, हैजाको फैलावट रोक्न स्थानीय तहदेखि केन्द्र सरकारसम्मको समन्वयमा प्रयास भइरहेको छ।
महानगरका स्वास्थ्य शाखा प्रमुख साहका अनुसार जनचेतना फैलाउन स्वास्थ्यकर्मी सहितको १३० जनाको टोली गाउँ–टोलमा परिचालन गरिएको छ। उनीहरुले सरसफाई अभियानसहित खाद्य पदार्थको निरीक्षण र स्वच्छता परीक्षणमा काम गरिरहेका छन्।
यस्तै हैजाको फैलावट रोक्न महानगरपालिकाले सोमबार र मंगलबार महानगर क्षेत्र भित्रका विद्यालय तथा कजेजमा बिदा घोषणा गरेको छ। यसबाहेक स्वास्थ्य मन्त्रालयले पठाएको स्वास्थयकर्मीको टोलिले पनि काम शुुरु गरिसकेको छ। आइतबार अस्पतालमा अनुगमन गरेको टोली आजेदेखि गाउँ पस्ने साहले बताए। हैजा प्रभावित क्षेत्रको पानीको नमुना संकलन गरि काठमाडौं पठाइसके पनि अँझै रिपोर्ट आइसकेको छैन

प्रतिक्रियाहरु

[anycomment]