त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह पुस १० गते
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह यहि १० पुस गते कीर्तिपुरस्थित त्रिविकै क्रिकेट रंगशालामा आयोजना गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गरेर त्रिविले गत शैक्षिकसत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गरेका विद्यार्थीको १० पुसमा दीक्षान्त समारोह गर्न लागेको जानकारी दिएको हो ।
त्रिविका अनुसार २०८१ साल असार १ गतेदेखि २०८२ साल जेठ ३१ गतेसम्मको एक शैक्षिक सत्रमा स्नातक, अधिस्नातक, स्नातकोत्तर, दर्शनाचार्य तथा विध्यावारिधि (पीएचडी) तह उत्तीर्ण गर्ने विद्यार्थीको संख्या ८९ हजार १९९ छ । जसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागी हुन औपचारिक रूपमा आवेदन दिएका छन् ।
आवेदकहरूमध्ये स्नातक तहमा ११ हजार २३४ जना, अधिस्नातक तहमा १४ जना, स्नातकोत्तर तहमा ४ हजार ८६० जना, दर्शनाचार्य तहमा १२० जना तथा विद्यावारिधि तहमा १५२ जना रहेका छन् । साथै, २३ हजार ९८० जना अभिभावक/संरक्षकले पनि सहभागिताका लागि आवेदन दिएका छन् । आमन्त्रित अतिथि तथा अन्य सहभागीहरू समेत गरेर करिब ४२ हजार जनाको दीक्षान्त समारोहमा उपस्थिति रहने अनुमान गरिएको रजिस्ट्रार प्राडा केदारप्रसाद रिजालले जानकारी दिए । उनले भने- ‘दीक्षान्तमा एक जना विद्यार्थीको दुई अभिभावक आउन सक्छन् । रंगशालामा विद्यार्थी र अभिभावक गरि करिब ५० हजारको हाराहारीमा उपस्थित हुन्छन्। ’
त्रिभुवन विश्वविध्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले आयोजना गर्न लागेको दीक्षान्तमा अनुमानित संख्यामा उपस्थिति भए यो त्रिविको इतिहासमै ठूलो समारोह हुनेछ ।
रजिस्ट्रार रिजालले दीक्षान्त समारोहको सन्दर्भ पारेर समारोहमा करिब २५ वटा दीक्षान्त पदक तथा पुरस्कारहरू वितरण गर्ने तालिका रहेको बताए । कार्यक्रममा ५२ जना सिनेट सदस्यहरू गाउनसहित औपचारिक पोशाकमा सहभागी हुनेछन् ।
दीक्षान्त समारोहको विशेष आकर्षणका रुपमा जापानका भौतिकशास्त्रतर्फका नोबेल पुरस्कार विजेता प्राध्यापक ताकाआकी काजिता प्रमुख अतिथिका रूपमा सहभागी हुने त्रिभुवन विश्वविद्यालयले जनाएको छ ।
त्रिविको दीक्षान्त समारोहमा पहिलो पटक नोबेल पुरस्कार विजेता सहभागी हुन लागेकाले यसले त्रिविको अन्तर्राष्ट्रिय शैक्षिक प्रतिष्ठा, विश्वस्तरीय पहुँच तथा शैक्षिक उत्कृष्टतालाई उजागर गर्न सहयोग पुग्ने त्रिविको विश्वास छ ।
समारोहको अध्यक्षता त्रिभुवन विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री सुशीला कार्कीले गर्नेछिन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवं सह–कुलपति महावीर पुन पनि समारोहमा विशेष अतिथिका रूपमा सहभागी हुनेछन् । यस्तै कार्यक्रममा त्रिभुवन विश्वविध्यालयका उपकुलपति प्रा. डा. दीपक आर्यालको प्रमुख आतिथ्यता रहनेछ ।
