विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएका शैक्षिक संस्थालाई १० बुँदे निर्देशन

२०८२ पुष १६ गते, बुधबार


काठमाडौँ । शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाको सम्बन्धनमा विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शिक्षण संस्थाहरुलाई १० बुँदे निर्देशन दिएको छ । शिक्षामन्त्री महावीर पुनले मन्त्रीस्तरीय निर्णय गर्दै विदेशी शिक्षण संस्थाको सम्बन्धन लिएर नेपालमा शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाहरुलाई निर्देशन दिएका हुन् ।
शिक्षामन्त्री महावीर पुनले मन्त्रीस्तरीय निर्णय गर्दै दिएको १० बुँदे निर्देशन यस प्रकार रहेको छ –
१- विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्नेसम्बन्धी निर्देशिका, २०५९ को अनुसूची ३ मा रहेको विदेशी शिक्षण संस्थाको सम्बन्धनमा उच्च शिक्षा सञ्चालन गर्ने संस्थाले पालना गर्नुपर्ने सर्तहरू अनिवार्य रूपमा पालना गर्ने गराउने।
२- शिक्षण संस्थाभित्र विद्यार्थीलाई अनुसाशनमा राख्न भनी डिसिप्लिन इन्चार्ज (डिआई) राख्ने गरेको र त्यसबाट विद्यार्थीको सिकाइमा नकारात्मक असर परेको भन्ने गुनासो प्राप्त हुन आएकोले यदि त्यस्तो व्यवस्था शिक्षण संस्थामा गरेको भए तत्काल हटाई विद्यार्थीलाई सहयोग र सल्लाह प्रदान गर्नका लागि विद्यार्थी परामर्श कक्ष स्थापना गरी विद्यार्थीलाई उचित परामर्श प्रदान गर्ने।
३- शिक्षण संस्थामा विद्यार्थी, अभिभावक एवम् सरोकारवालाहरूले गुनासो तथा सुझाव पृष्ठपोषण राख्न पाउने व्यवस्था मिलाउने र त्यसरी प्राप्त गुनासोलाई नियमित रूपमा सम्बोधन गर्ने।
४- विद्यार्थीबाट लिइने कार्यक्रमगत सबै प्रकारका शुल्कको विवरण पारदर्शी रूपमा सबैले देख्ने गरी डिस्प्ले गर्ने र सोको प्रमाणित प्रति मन्त्रालयमा अनिवार्य रूपमा १५ दिनभित्र पेस गर्ने।
५- प्रति कक्षा रहने विद्यार्थी सङ्ख्या तथा कक्षागत दैनिक सिकाइ क्रियाकलाप सञ्चालन तालिका सबै विद्यार्थी तथा अभिभावकलाई जानकारी दिने र संस्थाको सूचना पाटी तथा वेबसाइटमार्फत सार्वजनिक गर्ने ।
६- शिक्षण संस्थालाई अनुमति दिइएका विषय, तह र अवधिका कार्यक्रम निर्धारित स्थानमा मात्र सञ्चालन गर्ने ।
७- मन्त्रालयबाट शिक्षण संस्थाले सञ्चालन अनुमति प्राप्त गरेका विषय र अवधिका कार्यक्रम मात्र शिक्षण संस्थाले आफ्नो वेबसाइटमा जानकारी राख्ने। अर्को शिक्षण संस्थाका कार्यक्रमको जानकारी सञ्चालक समूह भनी कुनै पनि अवस्थामा शिक्षण संस्थाको वेबसाइटमा जानकारी नराख्ने ।
८- निर्देशिकाले तोकेको सङ्ख्यामा छात्रवृत्ति प्रदान गर्दा पारदर्शी र निष्पक्ष रूपमा विद्यार्थी छनोट गरी छात्रवृत्ति प्रदान गर्ने । सोको विवरण शिक्षण संस्थाको वेबसाइटमा सार्वजनिक गर्ने र मन्त्रालयमा अनिवार्य रूपमा विवरण पेस गर्ने ।
९- विषयगत योग्यता र दक्षता भएका शिक्षकहरूबाट मात्र अध्यापन गर्ने व्यवस्था मिलाउने ।
१०- निर्देशिकामा उल्लिखित प्रावधानहरू तथा अनुमति प्रदान गर्दा शिक्षण संस्थाले गरेको कवुलियतनामाका सर्तहरू अनिवार्य रूपमा पालना गर्ने। अन्यथा शिक्षण संस्थालाई दिइएको कार्यक्रम सञ्चालनको अनुमति जुनसुकै वेला रद्द हुन सक्ने कुरामा जानकारी राखे ।
यसैगरी, शिक्षा बिज्ञान तथा प्रविधि मन्त्रालयले अवैध रुपमा सञ्चालित बैदेशिक शैक्षिक परामर्श सेवा दिने संस्थाहरुबाट सेवा नलिन मन्त्रालयको अनुरोध गरेको छ। मन्त्रालय अन्तर्गतको शैक्षिक परामर्श तथा प्रमाणीकरण शाखाले सूचना जारी गर्दै मन्त्रालयले यस्तो अनुरोध गरेको हो।
बैदेशिक अध्ययनका लागि विभिन्न देशमा पठाउने क्रममा केही शैक्षिक परामर्शदातृ संस्थाहरूले शिक्षण संस्था नभएका तालिम केन्द्रलाई शिक्षण संस्थाका रूपमा प्रस्तुत गर्ने, सम्बन्धित देशबाट औपचारिक मान्यता नपाएका संस्थाका नाममा अफर लेटर झिकाइ विद्यार्थी पठाउने जस्ता गतिविधिका कारण विद्यार्थीहरू ठगिने, अध्ययनका क्रममा विभिन्न समस्यामा पर्ने गरेको उजुरी प्राप्त भएको सुचनामा उल्लेख छ।
विद्यार्थीहरू, सञ्चारमाध्यम, दर्तावाला चिकित्सकमार्फत शैक्षिक परामर्श व्यवसायमा संलग्न भई Code of Ethics and Professional Conducts, 2017 को उल्लङ्घन भएको विवरणसहित उजुरीहरू नेपाल मेडिकल काउन्सिल, नेपाल सरकारका कूटनीतिक नियोगहरूबाट प्राप्त भएको मन्त्रालयले जानाएको छ।
शिक्षा ऐन, २०२८ (संशोधनसहित) अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट स्वीकृति लिनुपर्ने कानुनी प्रावधान छ। तर, कतिपय उजुरीमा उल्लेख भएका संस्थाहरू मन्त्रालयको अभिलेखमा नदेखिँदा समस्या समाधान, अनुसन्धान तथा अनुगमनमा समेत प्रतिकूल असर परेको मन्त्रालयले स्पष्ट पारेको छ।
मन्त्रालयबाट स्वीकृति प्राप्त संस्थाहरूले मात्र बैदेशिक शैक्षिक परामर्श सेवा उपलब्ध गराउन, विद्यार्थी तथा अभिभावकहरूले पनि अनुमति प्राप्त संस्थाबाट मात्र सेवा लिन आग्रह गरेको छ। साथै, परामर्श सेवा उपलब्ध गराउँदा अफर लेटर प्राप्त शिक्षण संस्थाको सरकारी आधिकारिकता अनिवार्य रूपमा जाँच गर्न र गलत वा भ्रामक सूचना तथा विज्ञापन नगर्न सबै सम्बन्धित पक्षलाई सूचित गरिएको छ।
मन्त्रालयले शिक्षण संस्थाहरूको सरकारी आधिकारिकता जाँच गर्न तोकिएका आधिकारिक लिङ्क प्रयोग गर्न सकिने जानकारी दिएको छ। साथै, कुनै गुनासा भए शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत सम्बन्धित शाखाको इमेल ठेगाना ecvs@moest.gov.np मार्फत जानकारी गराउन अभिभावक, विद्यार्थी तथा सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु