एचपीभी खोप अभियान सुरु
काठमाडौँ । एचपीभी खोप अभियान आजदेखि सञ्चालन हुँदैछ । राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत आजदेखि आगामी फागुन १५ गतेसम्म ह्युमन प्यापिलोमा भाइरसविरुद्धको एचपीभी खोप लगाइने भएको हो। अभियानमा कक्षा ६ मा अध्ययनरत सबै छात्रा तथा द्यालय बाहिर रहेका १० वर्ष उमेरका किशोरीलाई खोप दिइने स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. अभियान गौतमले जानकारी दिनुभएको छ । त्यस्तै, गत वर्षको एचपीभी खोप अभियानमा छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका ११ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई पनि यो खोप दिइने व्यवस्था गरिएको हो।
डा. गौतमले अहिलेको खोप अभियानमा करिब साढे ३ लाख बालिकालाई खोप लगाउने लक्ष्य रहेको बताउनुभयो । खोप बिभिन्न पालिकामा फरकफरक दिनमा हुने भएकाले नजिकैको विद्यालय वा स्वास्थ्य संस्थामा बुझेर खोप लगाउन केन्द्रले आग्रह गरेको छ । एचपीभी खोप सुरक्षित, प्रभावकारी र निःशुल्क भएकाले ढुक्कसँग लगाउन केन्द्रले आग्रह गरेको हो । पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्रारम्भिक किशोरावस्थामा दिँदा बढी प्रभावकारी हुने अध्ययनहरुले देखाएको छ ।
गत वर्ष करिब १६ लाख किशोरीलाई एचपीभी खोप दिइएको थियो । अभियानमा ९४ प्रतिशतले खोप लगाएका थिए । पाठेघरको मुखको क्यान्सर हुने प्रमुख कारण ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) को संक्रमण हो । यो भाइरसको २ सय भन्दा बढी किसिमका प्रजातिहरू हुन्छन् । नेपालमा हरेक वर्ष दुई हजार भन्दा बढी महिलालाई पाठेघरको मुखको क्यान्सर हुने गरेको अनुमान छ ।
महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर दोस्रो मुख्य कारण रहेको र क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको केन्द्रले जनाएको हो।
