हावा खाएको पनि पैसा तिर्नुपर्ने !
काठमाडौँ । पूर्वी चीनको जियांग्सु प्रान्तस्थित झानजियागांग सहरमा रहेको एक रेष्टुरेन्टले आफ्ना ग्राहकलाई ताजा तथा शुद्ध हावा खान दिएको भन्दै हावाको पनि पैसा असुल्न थालेको छ । सिन्ह्वाका अनुसार उक्त रेष्टुरेन्टमा ग्राहकहरूले खानेकुराको बिलमा हावा सफा गर्ने वापतको अतिरिक्त १ युआन समेत तिर्नुपर्नेछ । स्मरण रहोस् हालैका हप्ताहरूमा उक्त सहर बाक्लो तुवाँलोले ढाकिएको छ र तुवाँलोले एक सय मिटर परसम्म समेत राम्रोसँग देखिँदैन । उक्त रेष्टुरेन्टले हालै हावा छान्ने प्रविधि खरिद गरेको छ जसबाट रेष्टुरेन्ट भित्रको हावा ताजा तथा स्वच्छ हुनेछ । र, यो प्रविधिमा लागेको खर्च उसले ग्राहकबाट असुल्न थालेको हो । तर, स्थानीय प्रशासनले भने ग्राहकहरूलाई यस्तो हावाको पैसा लिने रेष्टुरेन्टको काम अवैध रहेको भन्दै अतिरिक्त पैसा असुल्ने काम रोक्न आदेश दिएको छ । हावालाई वस्तुको रूपमा बेच्न नपाइने अधिकारीहरूले बताएका छन् । तर, कतिपय सामाजिक संजाल प्रयोगकर्ताले भने रेष्टुरेन्टको यस्तो शैलीको प्रशंसा गरेका छन् र स्वच्छ हावाको लागि अझै धेरै पैसा तिर्नसमेत तयार रहेको भन्दै सरकारलाई वायु प्रदुषण नियन्त्रण गर्न चुनौति दिएका छन् ।