आगो निभाउने रोबोट !

काठमाडौँ । अस्ट्रेलियामा रिमोटले चलाउन मिल्ने फायर फाइटिङ रोबोट तयार गरिएको छ । यो रोबोटको शिरमा टरबाइन जडान गरिएको छ, जसले पानीको फोहोरा बनाएर आगो लागेको स्थानमा फ्याँक्नेछ । यो रोबोटले ६० मिटर अगाडि र ९० मिटर माथिसम्म पानीको फोहोरा फ्याँक्न सक्नेछ । यसलाई रिमोटका आधारमा कुनै पनि दिशातर्फ घुमाउन सकिनेछ । तलमाथि, अगाडि पछाडि सबै रिमोटकै माध्यमबाट सहजै गर्न सकिन्छ । यसप्रकारको रोबोटले महत्वपूर्ण काम त्यतिबेला गर्नेछ जतिबेला आगोको लप्का चारैतिर फैलिएको हुनेछ । घरमा लागेको आगो होस् वा उद्योग कलकारखाना या जंगलमा रिमोट कन्ट्रोलको निर्देशनअनुसार यसले आगो नियन्त्रण गर्नेछ ।
यसलाई चलाउने ट्रकलाई बुलडोजरको स्वरुप दिइएको छ । चक्कामा प्लेट जडान गरिएको छ । जसले गर्दा दुर्गम क्षेत्रको कच्ची सडकमा पनि सहजै चल्नेछ । यो रोबोटलाई टैफ २० नामक दिइएको छ। यो रोबोटका बारेमा एक अस्ट्रेलियन मन्त्रीले भनेका छन्– फायर फाइटर्सका लागि यो रोबोट निकै उपयोगी हुनेछ । यो रोबोटको माध्यमबाट ठुलाठुला र खतरनाक आगो नियन्त्रणमा लिन सकिनेछ । यो रोबोटको आवश्यकता हाल आगो नियन्त्रणमा प्रयोग भइरहेका सबै तरिका सफल नभएका कारण परेको हो । – एजेन्सी