फ्याँकेको घडीको मूल्य आधा करोड !

काठमाडौँ । एप्पल कम्पनीका सस्थापक स्टिभ जब्सले आफ्नो जिवनकालमा प्रयोग गरेका केही सामानहरूको लिलामी भएको छ । उनका गृहव्यवस्थापक रहेका मार्क शेफले जब्सका सामानहरूको लिलामी गरेका हुन् । लिलाम भएका सामानहरूमा जब्सले लगाएको घडी, चप्पल, कालो स्वेटर, बिजनेस कार्डलगायतका अन्य व्यक्तिगत सामान रहेका छन् । स्टिभ जब्सले कुनैबेला लगाएर फ्याँकेको घडी ४२ हजार डलर अर्थात् झण्डै आधा करोड रूपैयाँमा बिक्री भएको छ । यो घडी कुनै बेला जब्सले प्राय लगाउने गर्थे । तर पछि भने यसलाई फ्याँके । अहिले त्यो चल्ने हालतमा थिएन र निकै बिग्रिसकेको अवस्थामा रहेको छ । सन् १९८४ मा जब्सले खिचेको एउटा फोटोमा यहीँ घडी लगाएका छन् । स्टिभ जब्सले लगाएका चप्पल भने २७ सय ५० डलरमा बिक्री भएका छन् । ब्रिकेनस्टक ब्राण्डका ती एकजोर चप्पल सन् १९८० ताकाका हुन् । पूरानो डिजाइनका यी चप्पल पनि प्रयोग गर्न मिल्ने खालका छैनन् । स्टिभ जब्सको कालो स्वेटर ७५ हजार डलरमा लिलाम भएको छ । यो स्वेटर पनि १९८० ताकाको हो । यसको अगाडिको भागमा नेक्स्ट लेखिएको छ । जब्स प्राय यो स्वेटर लगाउँथे । यो स्वेटर फाटिसकेको छ । जब्सकोे एप्पल लोगो भएको गोल्ड पेन, निलो बलपेन तथा उनले दस्तखत गरेका केही रसिद र उनको बिजनेस कार्ड लगायतका अन्य व्यक्तिगत सामग्रीहरू कुल १६ हजार २५० डलरमा बिक्री भएका छन् ।