मृतकले फोन गरेपछि….

काठमाडौ, २ बैशाख । भारतको केरलस्थित पुतिङ्गल मन्दिरमा भएको घटनाबाट सबै स्तब्ध छन् । घटनामा आफन्त गुमाएकाहरु शोकमै छन् । तर, एउटा परिवार भने शोकबाट अचानक खुसी पाएको छ । जुन उनीहरुले जीवनभर भुल्ने छैनन्।
भारतीय संचार माध्यमहरुका अनुसार एक परिवारले घटनामा आफ्नो छोरा मरेको ठानेर अस्पतालको शवगृहबाट लास घर ल्यायो । शवको अन्तिम संस्कार पनि गरियो । अन्तिम संस्कारपछि दुःखी परिवार जब घर पुग्यो तब त्यसको केहीबेरमै उनीहरुलाई फोन आयो । यो फोन अरु कसैको नभएर जुन छोरा मरेको ठान्दै अन्तिम संस्कार गरेको थियो, यसैको थियो ।
यसरी जब आफ्नो छोरा जिवितै रहेको जानकारी पायो खुसीको कुनै सीमा नै रहेन । प्रमोद नामका उनी त्यही ठेकेदारका लागि काम गर्दथे, जसले पुतिंगल मन्दिरका लागि प्रतिबन्धित पटाकाको व्यवस्था गरेका थिए । बेहोसी अवस्थामा अतिंगल अस्पताल मा रहेका प्रमोदको जब सोमबार राति होस आये तब उनले मंगलबार आफ्नो परिवारजनलाई फोन गरेका थिए । प्रमोदले भने–यो एक प्रकारले मेरो पुनःजन्म नै हो । विष्फोटका बेला घटनास्थलमै हुँदा पनि खै म कसरी जिवितै रहेँ ।
यद्यपि यो अग्निकाण्डमा प्रमोद घाइते भने भएका छन् । उनको सुन्ने शक्तिमा केही कमी आएको छ। यो घटनाले प्रशासनलाई थप समस्या सिर्जना गरेको छ । अब प्रमोद ठानेर उनको परिवारले अन्तिम संस्कार गरेको व्यक्तिको पहिचानमा जुटेको छ।
स्मरणरहोस् पुतिंगल मन्दिरमा आइतबार पटाका छोड्दा भएको आगलागीमा १११ जनाको मृत्यु भएको थियो । घटनामा ठुलो संख्यामा सर्वसाधारण घाइते भएका थिए । – एजेन्सी