समुद्रमा घर !

काठमाडौं, १७ वैशाख । जनसंख्या बृद्धिसँगै खेतीयोग्य जमिन मासिने क्रम बढ्दो छ । बसोबासका लागि खेतीयोग्य जमिन मासेर घडेरी बनाउने क्रम बढेसँगै खेतीयोग्य जमिनको अभावमा खाद्य संकट निम्तिने खतरा पनि बढ्दो छ ।
त्यसैले विकसित मुलुकमा कयौं तले अपार्टमेन्ट बनाउने लहर नै चलेको छ । सीमित जमिनमा तला थप्दै गगनचुम्बी भवन बनाएर बसोबासको व्यवस्थालाई केही हदसम्म व्यवस्थित गर्ने क्रम अधिकांश मुलुकमा भइरहेको छ । तर अब बसोबासका लागि जमिन नै चाहिने अवस्था पनि अन्त्य हुन लागेको छ ।
दुबईस्थित ‘हार्ट अफ युरोप’ द्वीप समूहमा यस्ता घर निर्माण हुँदैछन् जसका लागि जमिन आवश्यक पर्दैन । ‘फ्लोटिङ्ग सी हर्स प्रोजेक्ट’ अन्तर्गत करिब एक सय २५ घर समुद्रमा बनिरहेको छ । अत्याधुनिक प्रविधिबाट बनाइने यो घरमा बस्दा आफू कुनै द्वीपमा भएजस्तो अनुभव नहुने बताइएको छ । यो घरमा पानीको सतहमुनी बेडरुम र बाथरुम हुनेछ । सन् २०१८ मा तयार भइसक्ने यो घरको मूल्य २० लाख पाउण्ड राखिएको छ । सबैभन्दा ठूलो ‘भिल्ला’ चार हजार वर्गफिटमा बन्ने छ । दुई तले भवनमा बेडरुम, बाथरुम र गेस्ट रुमका अतिरिक्त माथिल्लो तलामा भान्छा, लिभिङ रुम र ओपन डेस्क हुनेछ । यो प्रोजेक्टमा २५ मुलुकका २०० भन्दा बढी विज्ञ सामेल छन् । यो घरमा बसेर समुद्री जीवलाई नजिकबाट हेर्न सकिने बताइएको छ ।- एजेन्सी