एअर होस्टेससग लहसिने पाइलट बर्खास्त

काठमाडौ, १९ बैशाख । स्पाइस जेटको एक पाइलटलाई बर्खास्त गरिएको छ । कोलकाताबाट बैंककका लागि उडेको विमानमा को–पाइलटलाई ककपिटबाट बाहिर पठाएर एअर होस्टेसलाई आफूसँगै राखेको आरोपमा उनलाई बर्खास्त गरिएको स्पाइस जेटले जनाएको छ ।
गत फेब्रुअरी २८ मा कोलकाताबाट बैंकक उडानका क्रममा यस्तो घटना भएको बताइएको छ । ती पाइलटले बैंककबाट फर्कदा पनि यस्तै व्यवहार गरेको बताइएको छ । ती पाइलटले नागरिक उड्डयन महानिर्देशनालयको उडान सम्बन्धी सुरक्षा नियम उल्लंघन गरेको पाइएको जनाइएको छ । त्यसैगरी केबिन क्रु प्रमुखका रुपमा उनले अपमानजनक भाषा प्रयोग गरेको पनि पाइएको छ । उनीमाथि यौन दुर्व्यवहारको आरोप पनि लागेको छ ।
स्पाइस जेटले ती पाइलटको परिचय भने खुलाएको छैन । स्पाइस जेटले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कम्पनीमा आन्तरिक उजुरी समिति छ, जो कार्यस्थलमा महिलामाथि हुने यौन उत्पीडन रोकथाम कानून, २०१३ अन्तर्गत काम गर्दछ ।’ – एजेन्सी