अर्काको पतिलाई बोकेपछि…

काठमाडौं, २७ बैशाख । अमेरिकी प्रख्यात व्यवसायी मिशेल मुनले एक कार्यक्रममा अर्काको पतिलाई बोकेपछि कार्यक्रमका सहभागीहरुमा हाँसोको फोहोरा नै छुट्यो । महिलाको अन्तवस्त्र निर्माण उद्योगमा अमेरिकामै अग्रणी व्यवसायी मानिने मुनले भियतनाममा एक कार्यक्रमका क्रममा अर्काको पतिलाई जुरुक्कै उचालेकी हुन् । समाचार एजेन्सीहरुका अनुसार उनले ती पुरुषलाई बालक सम्झेर बोकेकी हुन् । तर ती पुरुषको ४६ वर्षका छन् । झट्ट हेर्दा उनी बालकजस्तै देखिन्छन् । उनको उचाई कम हुनका साथै बच्चाजस्तै अनुहार भएका कारण जो कोहीले पनि उनलाई बालक नै ठान्छन् ।
समाचार एजेन्सीहरुका अनुसार मुन एउटा कार्यक्रमलाई सम्बोधन गरिरहेकी थिइन् । अचानक एक बालक मञ्चमा पुष्पगुच्छा लिएर पुग्यो । उनले पुष्पगुच्छा ग्रहण गर्दै खुशीले ती बालकलाई उठाइन् । यत्तिकैमा एक महिलाको आवाज आयो– ‘उसलाई तल झार्नुस्, ऊ मेरो पति हो ।’ यो सुनेर मुन चकित भइन् । सहभागी दर्शकमा पनि हाँसोको फोहोरा छुट्यो । मुनले ट्वीटरमा सो घटनालाई उल्लेख गर्दै लेखेकी छन्, ‘मैले ६ वर्षीय बालक सम्झेर उठाएको, विवाहित पुरुष पो रहेछ ।’ -एजेन्सी