सिंहलाई छानविनका लागि नियन्त्रणमा

काठमाडौँ, ११ जेठ । भारतको गुजरातमा सिंहको आक्रमणमा एक किशोरसहित तीन जना मारिएपछि १३ वटा सिंहलाई पिंजडामा बन्दी बनाइएको छ। यद्यपि वन अधिकारीहरुले यस्तो विरलै देख्न पाइने बताएका छन् । गुजरातका मुख्य वन संरक्षक जए खानका अनुसार यी सिंहहरुलाई अभ्यारण्यको पूर्वी भागमा समातिएको हो । उनले समाचार एजेन्सी एएफीलाई भने–जुन सिंहले मानिसमाथि आक्रमण गरे, उनीहरुको छानविन भइरहेको छ । बाँकी सिंहलाई पछि जंगलमा छाडिनेछ । नियन्त्रणमा रहेका सिंहको मलबाट आक्रमणकारी सिंह पत्ता लगाइनेछ ।
सिंहले गत शुक्रबार आँपको बगैंचा नजिकै आफ्नो घर बाहिर सुतिरहेका एक जना १४ वर्षीय किशोरमाथि आक्रमण गरेको थियो । किशोरलाई बचाउने कोशिस गर्ने उनका पिता गम्भीर घाइते भएका छन् । अप्रिल महिनामा सिंहले खेतमा सुतिरहेका एक जना ५० वर्षीया महिलाको ज्यान लिएको थियो भने एक महिनाअघि एक जना ६० वर्षीय व्यक्तिको शिकार गरेको थियो । सन् २००० मा एसियाली सिंहलाई संकटग्रस्त प्रजातिका रुपमा राखिएको थियो । गुजरातको जंगलमा ५ सय बढी सिंह रहेको अनुमान गरिएको छ । – एजेन्सी