चिकित्सा पेसा छाडेर आइएसमा भर्ना !

काठमाडौँ, १२ जेठ । बेलायतका एक चिकित्सकले आफ्नो पेसा र परिवारलाई छाडेर अन्तर्राष्ट्रिय आतंकवादी संगठन इस्लामिक स्टेट (आइएस) को सदस्यता लिएका छन् । बेलायतबाट सिरिया पुगेर उनले आइएसको सदस्यता लिएको बताइन्छ । सिरिया जानुअघि उनले कसैलाई पनि आफ्नो योजनाको जानकारी दिएका थिएनन् ।
बेलायती संचारमाध्यमका अनुसार प्यालेस्टाइनी मूलका ३७ वर्षीय बेलायती नागरिक इसाम अबुआन्जाले चिकित्सा पेसा छाडेर आइएसमा ‘जेहादी’ भूमिका रोजेका हुन् । उनी पत्नी र दुई सन्तानलाई समेत छाडेर आइएसमा आवद्ध भएको बताइएको छ । हालै उनका दुई तस्वीर सार्वजनिक भएका छन् । एक तस्वीरमा उनी आइएसको सैन्य पोशाकमा हतियारसहित देखिएका छन्, जसमा उनले कुरान पढिरहेको देखिन्छ । त्यस्तो अर्को तस्वीरमा उनी चिकित्सकको पोशाकमा हतियारसहित देखिएका छन् । उनले सन् २०१४ मा आइएसको सदस्यता लिएको बताइएको छ । – एजेन्सी