सर्पको सल्यक्रिया !

२०७३ असार ३ गते, शुक्रबार

काठमाडौं, ३ असार । दुई घण्टा कठिन अपरेशन, दुईपटक एनेस्थिसिया र दश टाँका, त्यसपछि एउटा सर्पको ज्यान बचेको छ । आफ्नै प्रकारको यो एक मात्र घटनामा भारतको नासिकका सर्पप्रेमी एवं पशु चिकित्सकहरुले एक धामन सर्पको शरीरमा फसेको प्लास्टिकको डिब्बा निकालेर सर्पको ज्यान बचाएका हुन् ।
यो सर्प नासिक नजिकै भिल्होली गाउँको एउटा कुवामा फेला परेको हो । सर्पको शरीरमा एउटा प्लास्टिकको डिब्बा घुसेको थियो । जसका कारण सर्पलाई गहिरो चोट लागेको स्थानीय अनन्त वालेले जानकारी दिए ।
अनन्तले नै कुवाबाट सर्प निकालेर नासिकस्थित सरकारी पशु चिकित्सालय पुराएका थिए । सर्पको अवस्था देखेर चिकित्सकहरुले तत्काल अपरेशन गर्ने निर्णय गरेका हुन् । त्यसकालागि सर्पलाई एनेस्थिसिया दिएर सर्पको शरीरमा फसेको डिब्बा निकालिएको थियो । अपरेशनका क्रममा जब डाक्टरहरु डिब्बा काटिरहेका थिए तब सर्प होसमा आएको थियो । यस्तो अवस्था देखेपछि चिकित्सकहरुले सर्पलाई पुनः एनेस्थिसिया दिएका थिए ।
दुई घण्टा लामो अवधि चलेको अपरेशनपछि सर्पको शरीरबाट डिब्बा निकालिएको छ, सर्पको घाउँमा दश टाँका लगाइएको छ।
सर्पलाई आगामी डेढ महिनासम्म चिकित्सकहरुकै निगरानीमा राखिने भएको छ। घाउ भरिएपछि सर्पलाई पुनः जंगलमै छाडिनेछ । अहिले यो सर्प नासिककै सर्पप्रेमी मनीष गोडबोलेसँग रहेको बताइएको छ। – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]