स्कुल पोशाक : केटालाई स्कर्ट केटीलाई सुरुवाल !

काठमाडौं, ७ असार । बेलायतमा झण्डै ८० वटा स्कुलले लैंगिक तटस्थ स्कुल पोशाकको नमूना पेश गरेका छन् । जस अन्तरगत पाँच वर्षको उमेरसम्मका विद्यार्थीहरुले स्कुल आउँदा आफूखुसी पोशाक लगाउन पाउने छन् । पाँच वर्षसम्मका बालक विद्यार्थीले स्कर्ट लगाउन सक्नेछन् भने बालिका विद्यार्थीले सुरुवाल ।
द सन्डे टाइम्सका अनुसार यी विद्यालयहरुले आफ्नो पोशाक संहिताको माध्यमबाट एकातर्फ केटा र केटी भन्ने फरकपना हटाउन खोजेका छन् भने अर्कोतर्फ ससाना बालबालिकालाई जुन पहिरन सहज हुन्छ उही लगाउन दिनुपर्छ भन्ने मान्यता पेश गरेका छन् ।
बेलायतमा हाल विद्यालयहरुमा कायम रहेको पोशाक नीतिले समलिंगी, द्विलिंगी तथा ट्रान्सजेन्डरहरुमाथि भेदभाव गरेको भन्ने अधिकारकर्मीहरुको गुनासोलाई ध्यानमा राख्दै ८० वटा विद्यालयहरुले यसरी लैंगिक तटस्थ पहिरन नीति अघि सारेको बताइएको छ । स्मरण रहोस् ब्रिगटन कलेजले यो वर्षको सुरुवातमै एक ट्रान्सजेन्डरमैत्री पोशाकसंहित घोषणा गरेको थियो ।