८० वर्षीया बडी बिल्डर !

काठमाडौ, ९ असार । अमेरिकाको बाल्टिमोर निवासी ८० वर्षीया एर्नेस्टीन शेफर्ड आफ्नो बडी बिल्डिङको तस्वीरका कारण चर्चामा छिन् । शेफर्डको विशेषता भनेको उनले ५६ वर्षको उमेरमा बढी बिल्डिङ सुरु गरेकी थिइन् । अहिले उनी प्रोफेशनल बडी बिल्डरको जीवन बाँचिरहेकी छन् । अधिक उमेरका बावजुद उनको यो काम रोक्ने कुनै इच्छा छैन । उनले गिनिज रेकर्डसमेत बनाइसकेकी छन्।
शेफर्ड स्वस्थ पनि छिन् र आफ्नो जीवनबाट निकै खुसी पनि छिन् । उनले अहिलेसम्म दुई वटा ठुला बडी बिल्डिङ उपाधि जितेकी छन् । उनको नाम सबैभन्दा बढी उमेरको बडी बिल्डरका रुपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा उल्लेख छ।
उनले आफ्नै बहिनीसँग बडी बिल्डिङ सुरु गरेकी थिइन् । तर, उनको बहिनीको मृत्यु भइसकेको छ। तैपनि उनी भने पछि हटेकी छैनन् । उनका अनुसार उनको सफलताको राज अनुशासन हो । उनी बिहान ३ बजे उड्छिन् र लामो दौड लगाउँछिन् । उनका अनुसार उनले कहिल्यै जीवनमा हार मानिनन् । उनी भन्छिन्–तपाई जुन कुरा मन पराउनु हुन्छ, त्यसमा अडिग रहनुपर्छ । – एजेन्सी