सम्बन्धविच्छेद गर्दा ६ करोड ८० लाख डलर मुआब्जा

२०७३ असार २५ गते, शनिबार

काठमाडौँ, २५ असार । बेलायतको लण्डनस्थित एउटा अदालतले पूर्व अमेरिकी मोडललाई सम्बन्ध विच्छेदमा ६ करोड ८० लाख डलर मुआब्जा दिन आदेश दिएको छ। बेलायतमा सम्बन्ध विच्छेदसम्बन्धी मुद्दामा अहिलेसम्मकै सबैभन्दा ठुलो मुआब्जाको राशी बताइएको छ।
पूर्व अमेरिकी मोडलको नाम क्रिस्टिना एस्ट्राडा हो । उनको विवाह साउदी अरबका एक जना अरबपति व्यवसायी शेख वालिद जुफैलीसँग भएको थियो ।
व्यवसायी जुफैलीले पूर्व मोडल क्रिस्टिनालाई इस्लामिक कानुनअनुसार दुई वर्षअघि सम्बन्ध विच्छेद गरेका थिए ।
क्रिस्टिनाले अरबपति व्यवसायी शेख वालिदले आफूलाई पूर्व जानकारीबिना सम्बन्ध विच्छेद गरेर अर्की महिला विवाह गरेको आरोप लगाएकी थिइन् ।
पूर्व मोडल क्रिस्टिनाले अरबपति शेखले बेलायतमा सम्बन्ध विच्छेदपछि दिनुपर्ने मुआब्जाबाट बच्न कुटनीतिज्ञले अन्य देशमा प्राप्त गर्ने छुट प्रयोगको कोशिस गरेको आरोप पनि लगाएकी थिइन् । एस्ट्राडाले हरेक वर्ष कपडा र पाँच कारका लागि १३ लाख डलर माग गरेकी थिइन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]