कुखुरा पालौ मच्छड भगाऊ

काठमाडौ, ७ साउन । खुकुराको गन्धले तपाईलाई मलेरियाबाट बचाउन सक्ने तथ्य फेला परेको छ। इथियोपिया र स्वीडेनका वैज्ञानिकहरुको अध्ययनका अनुसार मलेरिया फैलाउने मच्छड कुखुरा र अन्य पंक्षीदेखि टाढा भाग्ने गर्दछन् । पश्चिमी इथियोपियामा गरिएको अध्ययनमा मच्छडदानीमा सुतेका एक जना व्यक्ति नजिक खोरमा कुखुरा राखिएको थियो । मलेरियाको प्यारासाइट रगतमा फैलिँदा कलेजो (लिभर) बसेका हुन्छन् । मच्छडले मलेरिया संक्रमित व्यक्तिको रगत चुस्ने गर्दछ र फेरि उक्त प्यारासाइट अन्य व्यक्तिसम्म पुराउने काम गर्दछ । मलेरिया जर्नलमा प्रकाशित शोधको नतिजाअनुसार वैज्ञानिकहरु यो परिणाममा पुगेका छन् कि मच्छड आफ्नो शिकार गन्धका आधारमा खोज्ने गर्दछन् । त्यसैले कुखुराको गन्ध यस्तो हुन सक्छ कि उनीहरुलाई मन पर्दैन ।
शोधमा संलग्न अडिस अबाबा युनिभर्सिटीका आब्ते तेकीले भने, कुखुराको गन्धबाट केही रसायन निकालेर मच्छडलाई टाढा राख्ने क्रिममा प्रयोग गर्न सकिन्छ । उनले बीबीसीसँग भने आगामी दिनमा शोधको फिल्ड ट्रायल गरिनेछ । स्वीडिस युनिभर्सिटी अफ एग्रीकल्चर साइन्सेजका शोधकर्ता पनि यो अध्ययनमा संलग्न थिए । यो प्रयोगमा कुखुराको पखेटाबाट निस्कने रसाय र जीवित कुखुराको प्रयोग गरिएको थियो । शोधकर्ताहरुले कुखुरा र यो रसायनबाट मच्छडको संख्या निकै कम भएको पाएका थिए । संयुक्त राष्ट्रसंघका अनुसार अफ्रिकामा गत वर्ष मलेरियाबाट चार लाख जनाको मृत्यु भएको छ । – एजेन्सी