पति हुनु त यिनि जस्तो

२०७३ भाद्र ९ गते, बिहीबार

काठमाडौँ, ९ भदौ । विश्व अर्थतन्त्रको एउटा खम्बाका रुपमा आफूलाई उभ्याउने भारत मै गरिबी र अव्यवस्थाका चरम नमूनाहरु प्रकाशमा आउन छाडेका छैनन् । बुधबार एक गरिब नागरिकले आफ्नी पत्नीको शव १० किलोमिटरको दुरीसम्म एक्लै काँधमा बोकेर हिँडेको दृष्य भारतीय टेलिभिजन च्यानलहरुमै प्रशारण भएपछि भारतभित्रको अव्यवस्था र नागरिकप्रति सरकारी संयन्त्रको उदासिनता उजागर भएको हो । भारतीय संचारमाध्यमका अनुसार उडिसाको भवानीपुरास्थित अस्पतालमा उपचारकै क्रममा पत्नीको मृत्यु भएपछि दाना माझी नाम गरेका ती पुरुषले अस्पताल प्रशासनसँग शवलाई आफ्नो गाउँसम्म लैजाने व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । शव बाहनलाई तिर्ने रकम नभएका कारण उनले अस्पताल प्रशासनसँग सहयोग माग गरेका थिए ।
शव लैजान अस्पतालले सवारी साधनको व्यवस्था नगरिदिएपछि उनले खर्चको अभावमा काँधमै बोकेर पत्नीको शव घरसम्म लैजाने निधो गरे । १२ वर्षीय छोरीसमेतलाई साथ लिएर उनी पत्नीको शव बोकेर निरन्तर हिँडिरहे । बाटोमा कयौं मानिस रमिते बने । तर कसैले मद्दत गरेनन् । स्थानीय संचारकर्मीले घटनाबारे थाहा पाएपछि स्थानीय प्रशासनसमक्ष जानकारी गराए । स्थानीय प्रशासनले शव बाहनको बन्दोबस्त गरेर दाना माझीलाई सहयोग उपलब्ध गराउन पुग्दा उनले पत्नीको शव १० किलोमिटरसम्म बोकिसकेका थिए ।उनले बाँकी ५० किलोमिटरको बाटो भने स्थानीय प्रशासनले उपलब्ध गराएको शव बाहनबाटै तय गरेको बताइन्छ । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]