पसले बिना व्यापार !

२०७३ भाद्र १६ गते, बिहीबार

काठमाडौँ, १६ भदौ । दैनिक उपभोग्य बस्तु खरिद गर्नका लागि हामी बजार जाने गर्दछौं । आफूलाई चाहिएको सामानको मुल्य पसलेसँग सोध्छौं र सकेसम्म मुल्य घटाएर ती सामान खरिद गर्दछौं । भारतको पूर्वोत्तरस्थित मिजोरममा यस्तो बजार छ, जहाँ पसले नै हुँदैनन् । पसलमा विभिन्न सामाग्री राखिएका त हुन्छन् तर पसले बिना नै व्यापार हुने गर्दछ । पसलेले सामानसँगै मुल्यसूची लेखिदिएको हुन्छ । खरिदकर्ताले आफूलाई चाहिएको सामानको मुल्य सोही मुल्यसूचीमा हेरेर तिर्ने गर्दछन् । रकम लिनका लागि पनि पसलमा कोही हुँदैनन् । क्रेता आफैंले तोकिएको मुल्यअनुसारको रकम राखिदिएर जान्छन् । पैसा लिनका लागि एउटा भाँडो राखिएको हुन्छ, जहाँ क्रेताले आफूले लगेको सामानअनुसारको रकम राखिदिन्छन् । खुद्रा पैसाका लागि पसलेले नै एउटा छुट्टै बाकसको व्यवस्था गरिदिएको हुन्छ, जहाँ क्रेताले खुद्रा पैसा फिर्ता लैजान पनि पसलेलाई कुर्नु पर्दैन ।
भारतीय संचारमाध्यमका अनुसार मिजोरममा सडक छेउ यस्ता पसल बग्रेल्ती हुन्छन् । किसान बाहुल्य क्षेत्रमा खासगरी कृषि उपजहरु यसरी नै बिक्री हुँदै आएको छ ।
आफूले उत्पादन गरेका तरकारी लगायतका सामानहरु सडक छेउका छाप्रोमा राखेर किसानहरु खेतमा काम गर्न जान्छन् । क्रेता आफैंले सामानको मुल्य हेरेर रकम राखिदिने र सामान लैजाने गर्दछन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]