रथ बनाउनेको तलब एक रुपया !

२०७३ भाद्र ३० गते, बिहीबार

काठमाडौँ, भदौ ३० गते । इन्द्रजात्राका लागि गुठी संस्थानले १५ लाख रुपियाँ विनियोजन गरेको छ तर जात्रामा श्रीकुमारी, श्रीगणेश र श्रीभैरवको रथ बनाउने परम्पराका नकर्मीले बुधबार एक रुपियाँ तलब बुझेका छन् । उनीहरूका लागि तलब पाउने व्यवस्था गरिए पनि जिजुबाजेका पालादेखि नबढाइएकाले अहिले सुन्दा अनौठो र हाँसो उठ्ने अवस्था छ । काठमाडौँ ज्यावहाल वडा नं. २१ का चार नकर्मीले जनही एक पैसा तलब बुझ्दै आएकोमा एक पैसा चलन चल्तीमा नभएको भन्दै एक रुपियाँलाई चार भाग लगाउने गरी तलब दिइयो । गुठी संस्थानले दिएको यो एक रुपियाँ एक पैसाका दरले भाग लगाउनै नमिल्ने भएपछि इन्द्रजात्राको सम्झना भन्दै उनीहरूले दिइएको रुपियाँलाई खुत्रुकेमा राखे ।
गुठी संस्थानका रकमी दर्जाका यी चार जनामा ज्ञानेन्द्र, सुवर्णलाल, जितनारायण र दीवेस नकर्मी हुनुहुन्छ । जिजुबाजे चन्द्रलाल नकर्मीका पालादेखि कायम रहेको यो तलब अहिले पनि त्यत्तिकै छ । रकमी ज्ञानेन्द्र नकर्मी भन्नुहुन्छ– गुठी संस्थानले पहिला चार पैसा चार जनालाई भाग लगाउँदा एक सुकाको ढ्याक दिन्थ्यो, एक सुकाको ढ्याक चलनचल्तीमा नभएपछि एक रुपियाँको ढ्याक दिन थाल्यो, यो ढ्याक भाग लगाउन नै नमिल्ने भएपछि जात्राको स्मृतिमा खुत्रुकेमा खसाउन थालिएको छ ।
यो मात्र होइन इन्द्रजात्रामा आएका ज्यापू समुदाय सबैलाई जाँड ख्वाउने जिम्मा धनभाजु महर्जनले जम्मा चार पाथी जाँड बन्दोबस्त गर्न सक्नुभएको छ । जात्राको माहौलमा यति जाँड कुल्ला गर्न पनि पुग्दैन, जात्रामा आउनेले आफ्नै बन्दोबस्तमा जाँडको व्यवस्था गर्ने गरेका छन् ।
रथमा काम गर्ने सिकर्मीको तलब पनि हाँसो उठ्दो छ । एक सिकर्मी भन्नुहुन्छ, तलबको हिसाबले इन्द्रजात्राको सिकर्मी हौँ भन्न निकै असजिलो हुन्छ । संस्थानले दिएको एक रुपियाँ धेरै जनालाई भाग लगाउनुपर्छ । उपत्यकाको महìवपूर्ण मानिएको यो जात्रामा गाईजात्रे प्रकारको तलब लिने धेरै छन् लाजले कोही बोल्दैनन् रथ चलाउन अनुमति दिने महाने, नाइके दुर्गाबहादुर डङ्गोल (ब्रह्मटोल) भन्नुहुन्छ । उहाँका अनुसार राष्ट्रिय जात्रा पर्वमा नभई नहुने महानेको तलब पनि एक हजार आठ सय रुपियाँभन्दा माथि कसैको छैन ।
महानेको यो टोलीमा काठमाडौँको दक्षिण जैशिदेवल र उत्तर पकनाजोलका जम्मा साठी जना हुनुहुन्छ । बेरोजगारले भत्ता पाउने जमाना आइसक्यो तर सरकारको काम गर्ने रकमी कर्मचारीको यो दुर्दशा अरुले थाहै नपाउन् भन्ने लाग्छ जात्रामा सहभागी बताउँछन् । गुठी संस्थानका प्रशासक नारायण चौधरी भन्नुहुन्छ, संस्थानले पन्ध्र लाख रुपियाँ जात्राका लागि विनियोजन गरेको छ, एक रुपियाँ कसैले काम गरेबापत पाउँछ भन्ने विश्वास यो जमानामा कस्ले गर्छ ? – गोरखापत्र दैनिकवाट

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

कोपेनहेगन विश्वकै उत्कृष्ट शहर !

२०८२ श्रावण ५ गते, आईतवार

रोबोट्याक्सी सार्वजनिक

२०८२ असार ९ गते, सोमबार

२५ करोड मौरी भागेपछि . . .

२०८२ जेष्ठ १९ गते, आईतवार