यौन शोषणमा संलग्नलाई नपुंशक बनाइने

काठमाडौँ, ४ कात्तिक । इन्डोनेसियाको नयाँ कानुन अनुसार बालबालिकामाथि यौन शोषणमा दोषी ठहरिएका व्यक्तिलाई रसायनिक तरिकाले नपुंसक बनाइने भएको छ ।
राष्ट्रपति जोको भिडोडोले बीबीसीसँगको कुराकानीमा नयाँ कानुनी व्यवस्था पुष्टि गर्दै नयाा नीतिअनुसार यस्तो गरिएको बताए ।
इन्डोनेसियाई संसदले यही महिनाको सुरुमा यो विवादित कानुन पारित गरेको थियो । यसमा बालबालिकाको यौन शोषणमा दोषी पाइएका व्यक्तिलाई रसायनिक रुपमा नपुंसक बनाएर यौन सम्बन्ध कायम गर्न नसक्ने पारिनेछ । यो प्रक्रियामा दोषीको शरीरका यस्तो हर्मोन हालिनेछ जसबाट यौनिक सम्बन्ध सम्भव हुनेछैन ।
यो कानुनमाथि संसदमा चर्को बहस भएको थियो । भिडोडोले भने–हाम्रो संविधानले मानव अधिकारको सम्मान गर्दछ । तर हामी यौन हिंसा रोक्ने मुद्दामा कुनै सम्झौता गर्न सक्दैनौ । यसका लागि हामी अधिकतम सजाय दिनेछौ ।
उनले भने–मेरो विचारमा यदि रसायनिक बन्ध्याकरणलाई नियमित रुपमा लागु गर्ने हो भने हामी यौन हिंसा पूर्णरुपमा अन्त्य गर्न सक्नेछौ ।- एजेन्सी