मादक पदार्थ सेवन गरेर आमाको हत्या

२०७३ कार्तिक १५ गते, सोमबार

काठमाडौं, १५ कात्तिक । उदयपुर जिल्लाको कटारी नगरपालिका–२ बेलस्रोतस्थित सुकुम्वासी बस्तीमा गएराति मादक पदार्थ सेवन गरेका छोराले आमासँग झगडा गरेपछि धारिलो हतियार प्रयोग गरेर आमाको हत्या गरेका छन् । प्रहरी चौकी बेलस्रोतका अनुसार बेलस्रोतस्थित सुकुम्वासी टोलका ५५ वर्षीया फूलकुमारी सदालाई उनकै २२ वर्षीय छोरा कालीचन सदाले गएराति १२ बजे धारिलो हतियार प्रयोग गरेर हत्या गरेका हुन् ।
कालीचनले टोलका साथीसँग भैलो खेलेर अत्यधिक मादक पदार्थ सेवन गरेर घरमा आएपछि आमासँग झगडा गर्न सुरु गरेको प्रहरी चौकी बेलस्रोतका प्रमुख प्रहरी निरीक्षक विक्रम लामाले बताए । आमासँग झगडा हुन थालेपछि घरभित्र रहेको धारिलो हतियारले कालीचनले आमाको टाउकोमा हानेपछि फूलकुमारीको रक्तश्राव भएर घटनास्थलमा नै मृत्यु भएको थियो । घटना घटेलगत्तै कालीचनलाई प्रहरी चौकी बेलस्रोतले राति नै पक्राउ गरेको छ भने फूलकुमारीको शव परीक्षणका लागि अहिले कटारी अस्पतालमा लगिएको प्रहरी चौकी बेलस्रोतका प्रमुख लामाले बताए ।

प्रतिक्रियाहरु

[anycomment]