पातली मोडलमाथि प्रतिबन्ध !

२०७४ बैशाख २३ गते, शनिबार

काठमाडौं, वैशाख २३ । फ्रान्समा अत्यन्त पातली मोडलमाथि प्रतिबन्ध लगाउने नयाँ कानुन पारित भएको छ । खानामा अरुची हुनेलगायतका समस्याका कारण उत्पन्न हुने ‘एनोरेक्सिया’ नामक रोगसँग लड्न यस्तो कानुन पारित गरिएको बताइएको छ । नयाँ कानुनअनुसार अब फेसन मोडलले आफ्नो स्वास्थ्यसँग जोडिएका विषयको सबै जानकारी रहेको चिकित्सकबाट प्रमाणित सर्टिफिकेट तयार पार्नुपर्ने व्यवस्था गरिएको छ । त्यसमा उचाई र तौलकाबारेमा स्पस्ट जानकारी उल्लेख गर्नुपर्दछ । यसले अत्यन्त पातली मोडल फेसन इभेन्टमा भाग लिनबाट रोक्नेछ । नयाँ कानुन उल्लंघन गर्ने कम्पनीलाई ७५ हजार युरो जरिवाना र ६ महिनासम्म जेल सजायको व्यवस्था गरिएको छ । यसअघि, इटाली, स्पेन र इजरायलमा पनि यस्तो कानुन लागू भइसकेको छ । फ्रान्समा एनोरेक्सियाबाट प्रभावित करिब ४० हजारमध्ये ९० प्रतिशत महिला छन् । – एजेन्सी

प्रतिक्रियाहरु

[anycomment]