ट्राफिक प्रहरीमा सुन्दर युवतीलाई प्राथमिकता

काठमाडौ, १ असार । उत्तर कोरियामा ट्राफिक प्रहरीको जागिरका लागि सुन्दर युवतीलाई प्राथमिकतामा राख्ने गरिन्छ । उत्तर कोरियाको सडकमा ट्राफिक व्यवस्थापनका लागि ठूलो संख्यामा युवती खटिएका पाइन्छन् । समाचार एजेन्सीहरुका अनुसार उत्तर कोरियाको ट्राफिक प्रहरीमा सुन्दर युवतीलाई मात्र छनौट गरिन्छ । यतिमात्र होइन, उनीहरुलाई जागिर अवधिभित्र विवाह गर्न रोक लगाइएको हुन्छ । कसैले जागिरका क्रममा विवाह गरेको पाइएमा उसलाई बर्खास्त गरिन्छ । यति हुँदा पनि २६ वर्षको उमेर पार भएपछि त्यस्ता युवतीलाई अनिवार्य अवकाश दिइन्छ ।
सामान्यतया उत्तर कोरियामा २६/२७ वर्षको उमेरमा विवाह गर्ने चलन भएकाले नै युवतीहरुका लागि ट्राफिक प्रहरीमा उमेरको हदबन्दी लगाएको अधिकारीहरुको भनाइ छ । उनीहरुका अनुसार विवाहपछि घर–परिवारप्रतिको दायित्वका कारण उनीहरुले समय दिन नसक्ने र एकल रहँदा काममा बढी जिम्मेवारीवोध हुने भएकाले नै विवाहपछि ट्राफिक सेवामा नराख्ने गरिएको हो । तर पुरुषको हकमा भने यस्तो नियम छैन ।
ट्राफिक प्रहरीमा सुन्दर युवती छनोट गर्नुको कारण भने पर्यटकहरुलाई आकर्षित गर्नु एकमात्र उद्देश्य रहेको अधिकारीहरुको भनाइ छ । हरेक महिना महिला ट्राफिक प्रहरीबाट ‘ट्राफिक वुमन अफ दि मन्थ’ छनोट गरिन्छ । उनीहरुको तस्वीर हुलाक टिकट लगायतमा समेत प्रयोग गरिन्छ । – एजेन्सी