बिमानस्थलमै बच्चा भुलेपपछि . . .

२०७५ फाल्गुन २८ गते, मंगलवार

काठमाडौं, २८ फागुन । एक महिलाले आफ्नो बच्चालाई विमानस्थलको टर्मिनलमा नै भुलेपछि यात्रुवाहक विमानबीच बाटोबाटै साउदी विमानस्थलमा पुनः फर्कन बाध्य बनेको छ । जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ विमान उडिरहेको बेला ती महिलाले चालक दलका सदस्यलाई आफ्नो बच्चा हराइरहेको जानकारी गराएकी थिइन् । ती महिलाको आग्रहपछि पाइलट पुनः जेद्दाह विमानस्थलमा फर्कन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आग्रह गरेका थिए । गल्फ न्युजका अनुसार ती महिलाले किङ अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नै आफ्नो बच्चालाई भुलेकी थिइन् ।
हाल एउटा अडियो क्लिप निकै भाइरल भइरहेको छ जसमा विमानस्थलका कर्मचारी र पाइलटबीचको संवाद रहेको छ । पाइलटले एटिसीका कर्मचारीलाई सोध्छन्, ‘भगवान हामीसँग रहुन् । के हामी फर्कन सक्छौँ ।’ त्यसपछि एक एटिसीका कर्मचारीलाई ‘यो विमानले फर्कन आग्रह गर्दैछ… एक जना यात्रुले आफ्नो बच्चा प्रस्थान कक्षमा नै भुलेछिन्, विचरा ।’
त्यसपछि उनीहरु भन्छन्, ‘ठीक छ गेटमा फर्क, यो हाम्रो लागि विलकुलै नयाँ घटना हो ।’ फ्लाइट ट्रयाकिङ डाटाले उक्त विमान एक घण्टा ढिलो उडाएको देखाएको थियो । तर, यही कारणले विमानको उडानमा ढिलाइ भएको भन्ने स्पष्ट छैन । गत वर्ष जर्मनीका एक जोडीले पनि छुट्टी मनाएर फर्कने क्रममा आफ्नो छोरीलाई विमानस्थलमा नै भुलेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]