१४१ वर्ष पुरानो प्रेस त्रिभुवन विश्वविद्यालयमा !

२०८१ कार्तिक २१ गते, बुधबार

काठमाडौँ । १४१ वर्ष पुरानो प्रेस त्रिभुवन विश्वविद्यालय राखिने भएको छ । नेपालको पहिलो आमनिर्वाचन २०१५ को प्रचारप्रसार सामग्री छाप्नका तत्कालीन कम्युनिष्ट नेता राधाप्रसाद घिमिरेले विराटनगर ल्याइएको प्रेस (मुद्रण यन्त्र) स्वर्गीय घिमिरेको परिवारले उपलब्ध गराएपछि विश्वविद्यालयले पत्रकारिता तथा आमसञ्चार विभाग कीर्तिपुरमा मुद्रण यन्त्र प्रदर्शनका लागि राख्ने भएको हो । सन् १८८३ मा लण्डनमा बनेको यो प्रेस विक्रम संवत २०१४ सालमा घिमिरले विराटनगर ल्याएका थिए ।
तत्कालीन कम्युनिष्ट नेता तथा पूर्व राज्यमन्त्री घिमिरेले २०१४ सालअघिदेखि नै उनी विराटनगरको रंगेली रोडमा पायोनियर प्रिन्टिङ प्रेस सञ्चालन गर्थे । पायोनियर प्रिन्टिङ प्रेसबाट २०१२ सालमा पूर्वको पहिलो पत्रिका ‘हुरी साप्ताहिक’ छापिएको थियो । २०१४ सालमा भारतको कोलकत्ताबाट प्रेस ल्याएर उनले चुनावी प्रचारप्रसार सामग्री छापेका थिए ।
पत्रकारिता र प्रिन्टिङको इतिहास बोकेको १४१ वर्ष पुरानो मुद्रणयन्त्र पूर्वमन्त्री स्व‍र्गीय घिमिरेकी कान्छी बुहारी दुर्गा घिमिरेले त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागका प्रमुख कुन्दन अर्याललाई हस्तान्तरण गरिन् ।
लामो समयसम्म प्रयोग भएको यो प्रेस नयाँ प्रविधि आएपछि प्रयोगमा थिएन । नेपाली पत्रकारिता र प्रिन्टिङ प्रेसको इतिहास बुझाउनका लागि उपयोगी हुने भन्दै घिमिरे परिवारले प्रेस विश्वविद्यालयलाई हस्तान्त्रण गरेको हो ।
नेपाल कम्युनिष्ट पार्टीको संस्थापक सदस्य रहेका घिमिरे २०३० सालमा नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद् गठन हुँदा शिक्षा तथा सञ्चार राज्यमन्त्री बनेका थिए । २०७८ जेठ ९ गते उनको कोरोना संक्रमणबाट निधन भएको थियो ।

प्रतिक्रियाहरु

[anycomment]