तेल चुहावटले दुई लाख टन माटो प्रदूषित !

काठमाडौँ । दक्षिणी रुसको तटमा दुई क्षतिग्रस्त ट्याङ्कर बाट फैलिएको तेलले दुई लाख टन माटो प्रदूषित भएको अनुमान गरिएको छ । प्राकृतिक स्रोत मन्त्री अलेक्जान्डर कोज्लोभले प्रदूषित माटोको मात्रा दुई लाख टन सम्म पुग्न सक्ने बताएका हुन् । यस अघि राष्ट्रपति भ्लादिमिर पुटिनले गत हप्ता यसलाई ‘पर्यावरणीय विपत्ति’ बताएका थिए ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार क्रिमियाको बन्दरगाह शहर केर्चमा पनि यसको किनारमा इन्धन तेल आइपुगेको छ । स्वयंसेवकहरूले उपचार गरिरहेका तेल लागेका चराहरूका तस्विर पनि स्थानीय अधिकारीहरूले प्रसारण गरेका छन् । १० वटा डल्फिन मरेको तर, मृत्युको कारण पुष्टि गर्न परीक्षण आवश्यक रहेको बताइएको छ ।
डिसेम्बर १५ मा दुई रूसी तेल ट्याङ्कर भोल्गोनफ्ट–२१२ र भोल्गोनफ्ट–२३९ केर्च स्ट्रेटमा आँधीबेहरीको चपेटामा परेका थिए । तीमध्ये एउटा डुबेको थियो र अर्को किनारामा पुगेको थियो । सित जहाजहरूमा नौ हजार दुई सय टन इन्धन तेल थियो भने त्यसमध्ये करिब ४० प्रतिशत समुद्रमा पोखिएको हुन सक्ने समाचारमा उल्लेख छ ।
दर्जनौँ किलोमिटरको समुद्र तटमा इन्धन तेल फेला परेको थियो । विशेष गरी अनपाको समुद्री रिसोर्टमा ठूलो क्षति पुगेको बताइएको छ । -एजेन्सी