११ मिनेटको अन्तरिक्ष यात्रा गरी फर्किए ६ महिला

२०८२ बैशाख २ गते, मंगलवार


काठमाडौँ । विभिन्न क्षेत्रका ६ महिलाहरूको समूह ११ मिनेटको अन्तरिक्ष यात्रा गरी सुरक्षित फर्किएको छ । १४ अप्रिल अर्थात् वैशाख १ गते जेफ बेशोजको कम्पनी ब्लु ओरिजिनले पप गायिका केटी पेरी, पत्रकार गेल किङ, नागरिक अधिकारकर्मी एवम् वकिल अमान्डा इन्गुएन, नासाकी पूर्वरकेट वैज्ञानिक आइशा बोवे, फिल्म निर्माता क्यारियन फ्लिन र लरेन सान्चेजलाई अन्तरिक्ष यात्रा गराएको थियो ।
बीबीसीका अनुसार अन्तरिक्षमा पुग्दा पप गायिका केटी पेरीले गीत गाएकी थिइन् ।
महिलाहरूको समूहले मात्र अन्तरिक्ष यात्रा गरेको यो पहिलोपटक हो । यसअघि सन् १९६३ मा रुसी अन्तरिक्ष यात्री भेलेन्टिना टेरेश्कोभाले एक्लै अन्तरिक्ष यात्रा गरेकी थिइन् ।
महिला टोलीलाई जेफ बेजोसको अन्तरिक्ष कम्पनी ब्लु ओरिजिनले ‘न्यु शेपर्ड–३१’ नामको रकेट मार्फत अन्तरिक्षमा पठाएको थियो । सो रकेटलाई अमेरिकाको पश्चिम टेक्सासस्थित ब्लु ओरिजिन कम्पनीको प्रक्षेपण केन्द्रबाट अन्तरिक्षमा पठाइएको थियो ।
यो अन्तरिक्ष यान पूर्णरूपमा स्वचालित थियो । यसको अर्थ, अन्तरिक्ष यानभित्र यसलाई सञ्चालन गर्ने कोही चालक आवश्यक परेको थिएन ।
सो अन्तरिक्ष यानको अधिकतम गति २ हजार ३०० माइल प्रतिघण्टा थियो । यो ध्वनिको गतिभन्दा तीन गुणा बढी हो ।
कार्मन रेखा पार गरेर फिर्ता
महिलाहरुको समूह कार्मन रेखा पार गरेर पृथ्वीमा फर्किएका थिए । कार्मन रेखा एउटा काल्पनिक सीमा रेखा हो । यसलाई पृथ्वीको समुद्री सतहबाट १०० किलोमिटर माथिको बिन्दुको रूपमा परिभाषित गरिएको छ ।
यही बिन्दुबाट पृथ्वी छाडेर अन्तरिक्षको यात्रा सुरु हुन्छ । अर्थात्, यो बिन्दुलाई पृथ्वीको वायुमण्डलको अन्त्य र अन्तरिक्षको सुरुआत मानिन्छ । जो व्यक्ति यो सीमाभन्दा माथि यात्रा गर्छन्, उनीहरूलाई ‘अन्तरिक्ष यात्री’को दर्जा दिइन्छ ।
कार्मन रेखाको निर्धारण फेडेरेसन एरोनोटिक इन्टरनेशनलले गरेको हो । यो उचाइसम्म पुग्नुलाई अन्तरिक्ष सम्बन्धी अनुसन्धानको एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ ।
महिला टोलीले कार्मन सीमामा केही मिनेटसम्म गुरुत्वाकर्षण नहुने अवस्थाको अनुभव गर्नुका साथै न्तरिक्षबाट पृथ्वीको अदभूत दृश्यको मजा लिएका थिए ।
‘अन्तरिक्ष पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य’
यो यात्रा कुल ११ मिनेटको थियो । उनीहरू ७ मिनेटसम्म रकेटमा यात्रा गरेका थिए ।
ब्लु ओरिजिन कम्पनीका अनुसार यो मिसनको उद्देश्य मानिसहरुलाई अन्तरिक्ष पर्यटनप्रति आकर्षित गर्नु र त्यसमार्फत नयाँ पर्यटन उद्योग निर्माण गर्नु हो । साथै, यो प्रयासले ‘महिलाको विकास’मा केन्द्रित हुने र भावी पुस्तालाई प्रेरणा दिने बताइएको छ ।
यस्तो छ अन्तरिक्ष यात्रा गर्ने महिलाहरूको पृष्ठभूमि
लरेन सान्चेज
लरेन सान्चेज एक लाइसेन्स प्राप्त हेलिकप्टर पाइलट हुन् । उनले सन् २०१६ मा ब्ल्याक अप्स एभिएसनको स्थापना गरेकी थिइन् । उनी बेजोस अर्थ फण्डकी उपाध्यक्ष पनि हुन् । उनी तीन सन्तानकी आमा हुन् ।
आइशा बोवे
आइशा बोवे बहामासकी मूल निवासी हुन् । उनी नासाकी पूर्व रकेट वैज्ञानिक तथा उद्यमी पनि हुन् । उनी विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणितका क्षेत्रमा सक्रिय छन् ।
उनी ‘आइशा स्टेम बोर्ड’ नामक इन्जिनियरिङ कम्पनीकी सीईओ पनि हुन्, जसलाई दुईपटक अमेरिका भित्रको सबैभन्दा छिटो वृद्धि हुने निजी कम्पनीहरूको सूचीमा राखिएको छ ।
उनले ‘लिङ्गो’ नामक कम्पनी पनि स्थापना गरेकी छिन्, जसको उद्देश्य दश लाख विद्यार्थीलाई आवश्यक प्राविधिक सीप सिकाउने हो ।
अमान्डा इन्गुएन
अमान्डा एक बायोस्पेस अनुसन्धान वैज्ञानिक हुन् । हार्वर्डबाट स्नातक उनले हार्वर्ड सेन्टर फर एस्ट्रोफिजिक्स, एमआईटी र नासामा अनुसन्धान गरेकी छन् ।
अमान्डाले सन् १९८१ देखि २०११ सम्म नासाको एक अन्तरिक्ष मिसनमा काम गरेकी थिइन् । यौन हिंसाका पीडितका लागि उनले महत्वपूर्ण काम गरेकी छिन्, जसका लागि उनलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरिएको थियो । उनलाई सन् २०२२ मा टाइम म्यागजिनको ‘वुमन अफ द इयर’ अवार्ड पनि दिइएको थियो ।
केटी पेरी
केटी पेरी विश्व चर्चित पप गायिका हुन् । उनका एल्बमहरू सबैभन्दा धेरै बिक्री हुनेहरुको सूचीमा पर्दछन् । उनका गीतहरूलाई ११५ अर्बभन्दा बढी पटक हेरिएको छ ।
उनी मानवतावादी अभियानहरुमा पनि सक्रिय छन् । युनिसेफकी सद्भावना राजदूतको रूपमा उनले सबै बालबालिकाका स्वास्थ्य, शिक्षा, समानता र सुरक्षाको अधिकार सुनिश्चित गर्न आवाज उठाउँदै आएकी छिन् ।
गेल किङ
गेल किङ पत्रकार हुन् । उनी सीबीएस मर्निङ्सको को–होस्ट र ओप्रा डेलीकी सम्पादक हुन् ।
पत्रकारिता क्षेत्रमा लामो अनुभव भएका कारण, उनी अन्तरवार्तामा गहिरो संवाद गर्ने सीपमा माहिर मानिन्छन् ।
क्यारियन फ्लिन
फेशन र मानव संशाधनमा स्नातक गरेकी क्यारियन फ्लिनले पछिल्ला १० वर्षदेखि एलन–स्टिभेन्सन स्कूल, द हाई लाइन र हडसन रिभर पार्कजस्ता गैरनाफामूलक संस्थामा स्वयंसेवकको रूपमा काम गरेकी छन् ।
स्टोरी टेलिङको शक्तिप्रति उत्साहित क्यारियनले अर्थपूर्ण फिल्महरू बनाएकी छन् । तीमध्ये ‘दिस चेन्जेज एभ्रिथिङ’ (२०१८) ले हलिउडमा महिलाहरूको इतिहास खोजेको छ भने ‘लिली’ (२०२४) ले वकिल लिली लेडबेटरको कथा प्रस्तुत गर्छ । -बीबीसी

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु